Hamroprayas
लुम्बिनीमा कुखुरा पालन परियोजनाको लागि साझेदारी कार्यक्रम शुभारम्भ

बुटवल,फागुन ३०
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)ले लुम्बिनी प्रदेशमा कुखुरापालन परियोजनाको लागि साझेदारी कार्यक्रम शुभारम्भ गरेको छ । 

बुधबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी कृषि तथा सम्बन्धित क्षेत्रका सरोकारवालालाई एक साथ ल्याएको यस कार्यक्रमले नेपालको कुखुरापालन उद्योगको सफलताका लागि महत्वपूर्ण सहकार्यात्मक प्रयासमा जोड दिँदै यो परियोजना सुरु गरेको हो । 

नेपाली कम्पनी श्रीनगर एग्रीटेकद्वारा कार्यान्वयन गरिने २० लाख अमेरिकी डलरको तीन वर्षीय युएसएआईडी परियोजनाले कुखुरापालन बजार प्रणालीलाई बलियो बनाउनुका साथै सात हजार साना किसान तथा व्यवसायहरूको आयमा वृद्धि गर्न सघाउ पुर्याउने विश्वास गरिएको छ । 

कुखुरापालन उद्योगले आर्थिक वृद्धिलाई चलायमान बनाउँदै अत्यावश्यक रोजगारी, आय, खाद्य सुरक्षा र पोषण प्रदान गर्ने भएकाले नेपालमा यो उद्योग महत्वपूर्ण रहेको छ । नेपालको ग्रामिण अर्थतन्त्रमा कुखुरापालनले विशेष गरी महिला तथा सीमान्तकृत समूहलाई स्वरोजगारका अवसरहरू प्रदान गर्दछ । त्यस्तैगरी कृषि तथा पर्यटन जस्ता प्रमुख क्षेत्रहरूलाई समेत समर्थन गर्दछ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. रेवती रमण पौडेल लगायतले यस क्षेत्रको स्थानीय तहका जनप्रतिनीधिहरुको उपस्थितिमा उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा उत्कृष्ट करार कृषकलाई सम्मानका साथै युएसएआईडीको परियोजनामार्फत कुखुरापालन किसान तथा व्यवसायका लागि उपलब्ध उन्नत सेवाको प्रदर्शन गरिएको थियो ।त्यसैगरी युएसएआईडी÷नेपालका कार्यवाहक निर्देशक कारेनवेल्शले यसको महत्वमाथि प्रकाश पार्दै भन्नुभयो–“यस परियोजनाले नेपालको कृषि क्षेत्रको रूपान्तरणकारी वृद्धिका लागि निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहित गर्ने र अर्थपूर्ण सरकारी–निजी साझेदारीको सिर्जना गर्ने दिशामा युएसएआईडीको प्रतिबद्धता प्रदर्शन गर्दछ ।” 

समारोहमा उपस्थित अमेरिकी दूतावासका नियोग उप–प्रमुख जेसनमिक्सले नेपालमा उत्थानशील तथा दिगो कृषि उद्योग निर्माण गर्न युएसएआईडीको साझेदारीको भूमिका र देशभरिका समुदायका लागि सुधारिएको खाद्य सुरक्षा तथा पोषणमा त्यस प्रकारको साझेदारीले गर्ने योगदानमाथि जोड दिनुभयो ।

सन् २०११ देखि हालसम्म युएसएआईडीले १८ करोड १० लाख अमेरिकी डलरभन्दा बढी लगानी गरी आठ लाखभन्दा धेरै नेपालीलाई सुधारिएको कृषि उत्पादकत्व र बढेको बिक्रीमार्फत आयआर्जन वृद्धि गर्न सहयोग पु¥याएको छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update