Hamroprayas
सरकारको गलत नीतिका कारण हरेक क्षेत्रका व्यवसायीहरु समस्यामा परे :  डा. चन्द्र भण्डारी

बुटवल,चैत २५
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्य डा. चन्द्र भण्डारीले मन्त्री, सांसद र जनप्रतिनिधिको संख्या घटाउने बेला आएको बताउनुभएको छ । 

देशमा उठेको राजश्वले कर्मचारीलाई तलब समेत खुवाउन नसकेको अवस्था रहेको बताउँदै उनले चालु खर्च घटाउनको लागि मन्त्री ,सांसद र जनप्रतिनिधिको संख्या घटाउनु पर्ने बेला आएको उहाँको भनाई छ । 

होटल तथा रेष्टुरेण्ट ब्यवसाय संघले शनिबार बुटवलमा आयोजना गरेको २३ औं साधारण सभामा बोल्दै भण्डारीले सरकारको गलत नीतिका कारण हरेक क्षेत्रका व्यवसायीहरु समस्यामा परेका उल्लेख गर्दै जनप्रतिनिधिलाई तलब खुवाउन सवारी साधन आयातमा तीन सय प्रतिशतसम्म महँगो कर लिने गरिएको बताउनुभयो । 

देशमा स्थानीय तहदेखि प्रदेश हुंदै केन्द्रसम्म तलब खाने जनप्रतिनिधि अत्यधीक धेरै भएकाले आधा घटाउनुपर्ने बताउँदै उहाँले सबै भ्रष्ट नेताहरुलाई जेल हाले मात्रै देश बन्ने दाबी गर्नुभयो ।भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल र पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको उदाहरण दिँदै सांसद भण्डारीले कमिसन खानका लागि विदेशबाट ऋण लिएर पूर्वाधारमा अन्धाधुन्द लगानी गरिएको आरोप लगाउनुभयो । 

३४ वर्षदेखि एउटै अनुहारलाई भोट हालेर जिताइरेका नेपाली जनताहरूले अब विवेकपूर्ण निर्णय गर्नुपर्ने बेला आएको बताउनुभयो ।
चर्को कर र बैंक ब्याज दरका कारण नेपालको कृषि र अन्य व्यवसाय फस्टाउन नसकेको बरु संकटमा पर्दै गएको भण्डारीले बताउँदै देश बनाउन अब आउने चुनावमा भ्रष्ट नेताहरुलाई हराउन मतदाता पनि परिवर्तन हुनुपर्ने धारणा राख्नुभयो ।

संस्थाका पुर्व अध्यक्षहरु,सल्लाहकारहरु ,रुपन्देहीका बिभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधि, पत्रकार , सरोकारवाला, व्यवसायी उपस्थित भएको कार्यक्रम संघका बरिष्ठ उपाध्यक्ष माधव खनालको स्वागत , अध्यक्ष लेखनाथ भण्डारीको अध्यक्षता र महासचिव अर्जुन थापाको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update