Hamroprayas
नेकपा एमाले तिनाउ ३ पाल्पाको अध्यक्षमा कृष्ण पाण्डेय

बुटवल,माघ ७
नेकपा एमाले ३ नम्बर वडा कमिटी, तिनाउ–पाल्पाको दोस्रो अधिवेशन सोमवार झुम्सामा सम्पन्न भयो । अधिवेशनले कृष्ण पाण्डेयको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटी निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा जमानसिंह राना,सचिवमा जीतबहादुर क्षेत्री,उपसचिवहरुमा रीताकुमारी रिजाल र बीरबहादुर तामाङ चयन हुनुभएको छ । गाउँ अधिवेशन प्रतिनिधि परिषद् सदस्यमा गुरुप्रसाद शर्मा, यमबहादुर बिक,मतिराम लम्साल र सावित्रा पाण्डेय चयन हुनुभएको छ  । 

अधिवेशनका प्रमुख अतिथि लुम्बिनी प्रदेश कमिटीका सदस्य दलबहादुर गुरुङले तिनाउको वडा नम्बर ३ मा पार्टीको संगठनलाई चुस्तदुरुस्त र गतिशील बनाउँदै आगामी निर्वाचनमा श्रेष्ठता हाँसिल गर्ने गरि लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले पार्टी सदस्यता विस्तार र सदस्यहरुलाई प्रशिक्षित गर्दै लैजान सकेमा सफलता प्राप्त गर्न कुनै कठिनाइ नहुने बताउनुभयो । एमाले जनताको लोकप्रिय र विकासप्रेमी पार्टी भएको हुँदा यसलाई मन पराउने शुभचिन्तक र समर्थकहरुलाई गोलवन्द गर्दै लैजापर्नेमा एमालेका नेता ओमबहादुर घर्तिमगरले सुझाउनुभयो  । उहाँले विकास र एमाले सिक्काका दुई पाटा भएको उल्लेख गर्नुभयो ।

एमालेका जिल्ला नेता तथा तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जनताका असीमित आकाङ्क्षा रहेको तर सीमित साधन र स्रोत भएको हुँदा विकास निर्माणमा कठिनाई भएपनि आफूले अहोरात्र जनताको सेवा गरेको बताउनुभयो  । नेकपा एमाले ,तिनाउ कमिटी अध्यक्ष रोमबहादुर लम्तरीले एमाले र जनताकाबीच सीधा सम्पर्क राख्दै जनहितमा लाग्ने पार्टी नै एमाले रहेको ठोकुवा गर्नुभयो  । 

उक्त अधिवेशनमा गुरुप्रसाद शर्मा,मतिराम लम्साल,जीतबहादुर क्षेत्री,बसन्ती लामिछाने,रीताकुमारी रिजाल,गोविन्द पाण्डेय, बीरबहादुर तामाङ,ओमबहादुर जीसी,यमबहादुर बिक,कमल गौतम  लगायतले पार्टी संगठनलाई दरिलो बनाउँदै लैजानु पर्ने, नियमित पार्टी बैठक गर्नुपर्ने,जनताका घरदैलामा एमालेबाट विजयी जनप्रतिनिधिहरु पुग्नुपर्ने ,जनताका समस्याहरुलाई समाधान गर्न पार्टी र स्थानीय सरकारले पहल गर्नुपर्नेमा जोड दिएका छन् । आफूहरुले एमालेमा रहेर जनताका पक्षमा काम गर्दै आएको र आगामी दिनमा थप काम गर्दै जाने  बताउनुभयो । 

निर्वाचित सबैलाई प्रमाणपत्र र सपथग्रहण निर्वाचन आयुक्त बिबि बस्नेतले गराउनु भएको थियो । अधिवेशनमा स्वागत गुरुप्रसाद शर्मा,सञ्चालन जीतबहादुर क्षेत्री  र कृष्ण पाण्डेयले अध्यक्षता गर्नुभएको थियो । 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update