Hamroprayas
 लुम्बिनीको मुख्यमन्त्रीमा माओवादी   जोखबहादुर महराको दाबी पेस

बुटवल,चैत २३
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले दाबी पेस गर्नुभएको छ ।उहाँले शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो ।

उहाँलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका २९, माओवादीका १०, जनता समाजवादी पार्टीका ३, एकीकृत समाजवादी १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाले हस्ताक्षर गरेका छन्।दाबी पेश गरिएपछि प्रदेश प्रमुख अमिक शेरचनले महरालाई शुक्रबार नै मुख्यमन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ। 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले बिहीबार पदबाट राजीनामा दिनुभएको थियो । उहाँले बिहीबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिनुभएको थियो । फागुन २१ गते एमाले र माओवादीसहित पाँच दल मिनेर नयाँ गठबन्धन बनेसँगै चौधरी सरकार संकटमा परेको थियो।

नयाँ गठबन्धन बनेपछि चौधरीले गत फागुन २३ गते नेकपा (माओवादी केन्द्र) बाट मन्त्रीहरू धनबहादुर मास्की र कृष्णा केसी (नमुना) लाई बर्खास्त गर्नुभएको थियो ।

अर्थ र सहरी विकास मन्त्री रहेका दुवैजनालाई बर्खास्त गरेसँगै त्यहाँको सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिएको थियो। त्यससँगै मुख्यमन्त्री चौधरी अल्पमतमा पर्नुभएको थियो । यो राजनीतिक घटनाक्रम पछि मुख्यमन्त्री चौधरीसँग विश्वासको मत लिने या राजीनामा दिने दुई विकल्प थिए। उहाँले संसद्को फेस नगरी पद त्याग्नुभयो ।  यसअघि बिहीबार नै लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थापनमन्त्री भण्डारीलाल अहिरले राजीनामा दिनुभएको थियो।

जनता समाज पार्टीका तर्फबाट मन्त्री भएका आहिरले पदबाट राजीनामा दिएसँगै चौधरीको संकट बढेको थियो।नयाँ सत्ता गठबन्धनमा समावेश जसपाले मुख्यमन्त्री चौधरीलाई विश्वासको मत नदिने भएपछि अहिरले राजीनामा दिनुभएको थियो । २०८० वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका चौधरीले १९ गते विश्वासको मत लिनुभएको थियो । 

चौधरीको पक्षमा ५३ मत र विपक्षमा २९ मत खसेको थियो। कांग्रेसका तर्फबाट मुख्यमन्त्री भएका चौधरीलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update