Hamroprayas
 लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महरा र तीन मन्त्रीले लिए सपथ

बुटवल, चैत २५

लुम्बिनी प्रदेशले नयाँ मुख्य मन्त्री पाएको छ । लुम्बिनीमा नवनियुक्त मुख्यमन्त्री र तीन मन्त्रीले सपथ आईतबार सपथ लिएका छन् । प्रदेशमा अहिले चार सदस्यीय मन्त्रिपरिषद गठन भएको छ ।

शुक्रबार मुख्यमन्त्री नियुक्त हुनुभएका जोखबहादुर महराले प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ लिएपछि तीन जनालाई मन्त्री नियुक्त गरेसंगै पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद बनेको हो । नवनियुक्त मन्त्रीहरुमा नेकपा एमालेबाट चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन तथा जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर रहनुभएको छ । अर्घाखांचीका आचार्य एमाले संसदीय दलका उपनेता हुनुहुन्छ ।

रोल्पाका पुन गत चुनावमा स्वतन्त्र उम्मेदवार बनेर कांग्रेस र माओवादीका साझा उम्मेदवार कांग्रेस प्रदेश सभापति अमरसिंह पुनलाई पराजित गर्नुभएको थियो । बांकेका अहिर यसअघिको सरकारमा समेत कृषि तथा भूमि व्यवस्था मन्त्री हुनुभएको थियो । 

बाँकी मन्त्रीहरु मुख्यमन्त्रीले विश्वासको मत लिएपछि नियुक्त गरिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । केन्द्रीय सत्ता समीकरण फेरबदल भएका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । 

यहां एक सिट भएको नेकपा एकीकृत समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई समेत मन्त्री बनाउनेगरी दलहरूको बीचमा लिखित सहमति भएको छ । जसपालाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयसहित सहरी विकास तथा पर्यटन मन्त्रालयको नेतृत्व दिनेसम्मको सहमति भएको छ । यसका साथै मुख्यमन्त्री बनाउन समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउन मन्त्रालय दिने योजना पनि छ । धेरै दल सरकारमा सहभागी हुंदा यसअघि कायम १० मन्त्रालय फुटालेर बढाउने तयारी छ ।
 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update