Hamroprayas
रामग्राममा भेटियो प्राचिन विहार र पोखरी 

लुम्बिनी, मंसिर १०
शान्तिका अग्रदुत गौतमबुद्धको अस्तुधातु रहेको नवलपरासी (पश्चिम) रामग्राममा  भग्नाअवशेष विहारका पर्खाल र प्राचिन पोखरीको संरचना फेला परेको छ ।पुरातत्व विभाग, लुम्बिनी विकास कोष, यूनेस्को र दुर्हाम विश्वविद्यालयका विज्ञहरुको टोलीले करिव एक महिनादेखि गरेको उत्खनबारे जानकारी दिन आईतबार आयोजित कार्यक्रममा रामग्राम स्तुपको उत्तर पश्चिमपट्टी गरिएको उत्खननबाट प्राचिन विहारका भग्नाअवशेष र पोखरी भेटिएको जानकारी गराइएको हो ।
 

उक्त कार्यक्रममा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बुद्धको अस्तुधातु रहेको रामग्राममा सरकारले प्राथमिकताका साथ उत्खनन र संरक्षणको काम नगरेको गुनासो गरे । उनले अहिले भएको उत्खननबाट फेला परेका प्राचिन अवशेष र संरचनाले उत्साही बनाएको बताउँदै यस्ता उत्खननको मात्रा बढाउन समेत आग्रह गर्नुभयो । 

कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरणले रामग्राम स्तुपमा गरिएको भोगर्भिक (जियोफिजिक्स ) सर्भेमा देखिएको संरचनालाई अहिले गरिएको उत्खननले पुष्टि गरेको बताउनुभयो । उहाँले विहारका भग्नाअवशेष पर्खाल, पोखरी फेला परेकाले रामग्राम स्तुपको पुरातात्विक महत्व थप उजागर भएको बताउँदै लुम्बिनी विकास कोषले रामग्राम स्तुपको विकासलाई गति दिने गरी योजना बनाएको समेत बताउनुभयो ।

उहाँले रामग्राम स्तुप क्षेत्र कोषकै कार्यक्षेत्रभित्रमा पर्ने भएकाले यसको व्यवस्थापनका सन्दर्भममा स्थानीय स्तरमा उठेका सवाललाई सम्बोधन गर्ने समेत प्रतिबद्धता जनाउनुभयो ।पुरातत्व विभाग, लुम्बिनी विकास कोष र दुर्हाम विश्वविद्यालयका विज्ञहरुको टोलीले नोभेम्बर १ तारिखदेखि रामग्राम स्तूप उत्खनन र पण्डितपुरमा भौगर्भिक सर्भे गरेको छ । रामग्राममा प्राचिन विहारका भग्नाअवेष पर्खाल, पोखरी र अन्य प्राचिन सामाग्रहीहरु फेला परेको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताउनुभयो । उहाँले रामग्राम स्तुपको बारेमा हजारमिटर भन्दा बाहिरीको क्षेत्रमा पनि अनुसन्धान गर्नुपर्ने बताउनुभयो । उहाँले पण्डितपुरमा गरिएको भौगर्भिक सर्भेले जमिनमुनी प्राचित सहर रहेको देखिएको बताउनुभयो  । उहाँले कोलिय राज्यको सहरका रुपमा पण्डितपुर हुनसक्ने आधारहरु देखा परेको बताउनुभयो । 

उत्खनन र भौगर्भिक सर्भेका बारेमा दुर्गाह विश्वविद्यालयका प्रा. डा. रविन कनिङघमले रामग्राम स्तुप निकै महत्वपूर्ण प्राचिन सम्पदा भएकाले यहाँको महत्व पुष्टिका लागि उत्खननले ठूलो सहयोग गर्ने बताउनुभयो । उहाँले आफुहरु प्राविधिक रुपमा रामग्राम स्तुपका प्राचिन संरचनाहरु पत्ता लगाउने भएपनि यसको संरक्षण स्थानीयहरुले नै गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले रामग्राम स्तूपको महत्वलाई झल्काउनका लागि यसको उत्खखन र संरक्षणलाई प्राथिमकता दिनुपर्ने बताउनुभयो ।

रामग्राममा भेटिएका पुरातात्विक भग्नाअवेशष र बस्तुहरुको कालअवधी (समय) पत्ता लगाउनका लागि यो पटकको उत्खननले सहयोग गर्ने लुम्बिनी विकास कोषका बरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले बताउनुभयो । कार्यक्रमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, पुरातत्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य लागतको उपस्थिती रहेको थियो । 

रामग्राम स्तुप गौतबुद्धको अस्तु राखिएको आठभागमध्येको एक ठाउँ हो । रामग्राममा १९९७ सालमा छोटो अवधिको र सन् १९९८ देखि २००४ सम्म अलि लामो गरी दुई चरण मात्रै उत्खनन भएको थियो । त्यसयता अहिले सन् २०२३ नोभेम्र १ तारिखदेखि ३० सम्मको समय राखेर उत्खनन गरिएको हो ।  
 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update