Hamroprayas
सुन्दर शहर पोखरा बन्यो नेपालको पर्यटकीय राजधानी 

बुटवल, चैत ४
नेपालको सुन्दर शहरका रुपमा परिचित पोखरालाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गरिएको छ ।आइतबार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्नुभएको हो  । पोखरा प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै प्रधानमन्त्रीले नेपालको पर्यटन राजधानी घोषणा गर्नुभयो । 

पोखरा नेपालको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य हो । उक्त गन्तव्य आजदेखि मुलुकै पर्यटनको लागि राजाधानीको रुपमा नेपाल सरकारबाट घोषणा भएको छ ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको दृष्टिले अनुपम, विश्वकै शीर्ष पर्यटकीय गन्तव्यको रुपमा ख्याती प्राप्त सुन्दर पोखरालाई मुलुककै पर्यटकीय राजधानीको रुपमा औपचारिक रुपमा घोषणा गरिएको बताउनुभयो । 

उहाँले पोखरा पर्यटन राजधानी घोषणाले समग्र गण्डकी प्रदेश र मुलुककै श्रीवृद्धिमा नयाँ आयाम थपिने विश्वास लिएको धारणा राख्दैे विश्वका विभिन्न मुलुकमा शहरका आ–आफ्नै विशेषता र पहिचानको आधारमा राजधानी घोषणा गर्ने तथ्यलाई समेत विचार गरी पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको दाबी गर्नुभयो। 

पोखरालाई पर्यटन राजधानी घोषणाका लागि विज्ञसहित अध्ययन समिति गठन गरिएको थियो । समितिले अध्ययन गरी विभिन्न सूचकहरुको आधारमा पर्यटन राजधानी घोषणा गर्न सिफारिस गरेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update