
बुटवल,माघ ११
आज सम्पन्न राष्ट्रिय सभा निर्वाचन बाट लुम्बिनीका दुवै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।
निर्वाचनमा महिला कोटामा नेपाली कांग्रेसकी उम्मेदवार विष्णुकुमारी सापकोटा र अन्य कोटामा नेकपा माओवादी केन्द्रका उम्मेदवार झक्कु सुवेदी निर्वाचित हुनुभएको हो ।
महिलातर्फ सापकोटा ५ हजार ४३५ र मतभार सहित विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिष्पर्धी एमालेकी तुलसाकुमारी केसीले २ हजार ८६७ मत प्राप्त गर्नुभयो । त्यस्तै, सुवेदी ५ हजार ४३५ मतभार सहित विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिष्पर्धी एमालेका झपेन्द्र घर्ती क्षेत्रीले ३ हजार ११ मतभार प्राप्त गर्नुभयो । दुई पदको लागि भएको निर्वाचनमा लुम्बिनीमा ६ जना उम्मेदवार रहेका थिए ।
लुम्बिनीमा सत्तारुढ गठबन्धन एक ठाउँ र एमालेले एक्लै चुनाव लडेका थियो । ३०५ जना मतदाता रहेको लुम्बिनीमा ८७ जना प्रदेशसभा सदस्य र २१६ स्थानीय तहका प्रमुख उपप्रमुखले मतदान गरेका थिए । ‘बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव र रुपन्देही मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदादेवी उपाध्यक्ष अनुपस्थिति रहेको निर्वाचन अधिकृत कूलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
एमालेका कुमार दशौंदी र नेपाली कांग्रेसकी अनिता देवकोटाको कार्यकाल सकिन लागेकाले नयाँ सदस्य छान्न प्रतिस्पर्धा भएको हो । राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि प्रदेशसभा सदस्यको ५३ र पालिका प्रमुख÷उपप्रमुखको १९ हुनेगरी मतभार छुटटाइएको हुन्छ । लुम्बिनीको कूल मतभार ८ हजार ७५२ हो । ५९ सदस्यीय राष्ट्रिय सभामा सात वटै प्रदेशबाट ८ जनाका दरले ५६ सांसद निर्वाचित हुने र राष्ट्रपतिबाट तीन सदस्य मनोनीत गर्ने संवैधानिक व्यवस्था छ ।