Hamroprayas
‘शेल्टर’ प्रकाशनका लागि काम शुरू

काठमाडौं ,

नेकपा (एमाले)ले पार्टी इतिहास अभिलेखनको अभिन्न अङ्गका रूपमा भूमिगत कालमा पार्टी संगठन निर्माणका लागि नेताहरूले अपनाउनुभएको शेल्टर जीवनका अनुभव र अनुभूति समेटेर ‘शेल्टर’ प्रकाशन गर्ने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५औँ बर्षगाँठ (हिरकबर्ष महोत्सव)का अवसरमा पार्टी निर्माणको महत्वपूर्ण आयामका रूपमा रहेको भूमिगतकाल र त्यस समयमा जनताका घरमा लिइएको आश्रयको अनुभव, अनुभूति र स्मृतिको संस्मरणात्मक लेखहरूको सङ्गालोका रूपमा ‘शेल्टर’ प्रकाशन गर्न लागिएको हो । 

पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठकले नेकपा स्थापनाको हिरक बर्ष (२०८० बैशाख ९ देखि २०८१ बैशाख १० गतेसम्म) विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको थियो । यसै सन्दर्भमा शेल्टरकालको अनुभव र अनुभूतिको पनि अभिलेखन गर्ने निर्णय गरेको थियो । 

बैठकले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई ‘शेल्टर’ संस्मरण गन्थ सङ्कलन तथा सम्पादनको जिम्मेवारी दिएको थियो । सो बमोजिम संयोजक पौडेलले मङ्गलबार भूमिगत कालको कठिन परिस्थितिमा जनताको घरमा आश्रय लिई पार्टी काममा खटिनुभएका  नेताहरूलाई पत्र पठाई आफ्ना अनुभव, अनुभूति र स्मृतिलाई लिपिबद्ध गरी उपलब्ध गराउन अनुरोध गर्नुभएको छ । 
उपाध्यक्ष तथा संयोजक पौडेलले यस कामको शुरुवात केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरालाई पत्र प्रदान गरी गर्नुभएको हो । बोहोरा पञ्चायतकालीन अफ्ठ्यारो परिस्थितिमा पार्टीको संगठन निर्माणमा महत्वपूर्ण योगदान गर्नुभएका नेता हुनुहुन्छ । उहाँजस्तै धेरै नेताकार्यकर्ताले पार्टी निर्माणमा धेरै हिसावले महत्वपूर्ण योगदान गर्नुभएको छ । निरङ्कुश राजतन्त्रको चरम दमनको समयमा कतिपय कमरेडहरूले गौरवपूर्ण शहादत प्राप्त गर्नुभएको छ भने कैयौंले कठोर यातनाका साथ जेल जीवन विताउनुभएको थियो । 

त्यस्तै, विभिन्न कमरेडहरूले आफ्नो घर परिवार, व्यवसाय, अध्ययन वा सुविधापूर्ण जिन्दगी त्यागेर पार्टीको आह्वानमा स्वेच्छाले भूमिगत जीवन रोज्नुभयो । यस क्रममा पार्टीका नेता–कार्यकर्ताहरूले जनताको घरमा आश्रय लिएर पार्टी निर्माणमा गर्नुभएको योगदान रोमाञ्चक र अविस्मरणीय छन् । 

राज्यबाट पक्राउ पूर्जी जारी गरिएको अवस्थामा आफ्नो नाम, ठेगाना लुकाएर, जनताको घरमा आश्रय लिएर, उहाँहरूकै अगाध स्नेह र संरक्षणमा रहेर गरिएको पार्टी कामबाट आजको शक्तिशाली पार्टी नेकपा (एमाले) निर्माण गर्नमा महत्वपूर्ण भूमिका निर्वाह भएको छ ।

भूमिगत काल र शेल्टर जीवन हामी कस्तो बाटो पार गर्दै आजको अवस्थामा आइपुग्यौँ भन्ने बुझ्नका लागि पनि महत्वपूर्ण हुने विश्वासका साथ पार्टीले ‘शेल्टर’ प्रकाशन गर्न लागेको हो । यो गन्थ प्रकाशनबाट शेल्टर लिने नेताहरूको अनुभवमात्र होइन, शेल्टरदाताहरूको योगदान समेत संस्थागत हुने छ, इतिहासको गौरवपूर्ण अनुभव नयाँ पुस्तामा हस्तान्तरण हुने छ ।  

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update