Hamroprayas
जिवनमा सबैभन्दा ठुलो सम्पत्ति नै स्वास्थ्य हो  : उपप्रमुख अर्याल 

बुटवल,मंसिर २२
बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेबि अर्यालले महिलाहरुले महिनावारी हुदा आफ्नो स्वास्थ्यको बिशेष ख्याल गर्नुपर्ने बताउनुभएको छ । अर्यालले  जिवनमा सबैभन्दा ठुलो सम्पत्ति नै स्वाथ्य भएकाले महिलाहरुले महिनावारीको समयमा मात्रै नभएर जुनसुकै बेलापनि आफ्नो स्वास्थ्यको बिषयमा चनाखो बन्न आग्रह गर्नुभयो ।

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा सिर्जनशील संस्था नेपाल सीनको आयोजना र बुटवल उपमहानगरपालिकाको समन्वयमा शुक्रबार आयोजना गरिएको रजनोवृत्ति सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै उहाँँले सो कुरा बताउनुभएको हो । 

अर्यालले महिलाहरु महिनावारी हुदाको सुरुवातको समयमा र महिनावारी बन्द हुने उमेरमा पुग्दा थप समस्या देखा पर्ने भएकाले नजिकैको स्वास्थ चौकी वा अस्पतालमा पुगेर स्वास्थ्य परामर्श लिन अनुरोध गर्नुभयो । उपप्रमुख अर्यालले महिनावारी प्राकृतिक र सुखद् बिषय भएपनि यसलाई सामाजिक रुपमा छुन नहुने र अपबित्र बनाईकोले यस्ता भ्रमलाई चिर्दै अगाडी बढ्न नगरबासीलाई आग्रह गर्नुभयो । समाजमा रहेका हानिकारक मुल्यमान्यतालाई चिर्दै समृद्ध समाज निर्माणमा लाग्न सकेमात्रै लैंगिक हिंसा मुक्त समाज निर्माण गर्न सकिने अर्यालको भनाई थियो । 

   

बुटवल उपमहानगरका ११ का वडा अध्यक्ष रामचन्द्र खनालले महिनावारीका बिषयमा परिवारमा खुलेर कुरा गर्नुपर्ने बताउनुभयो । अहिलेपनि  समाजमा सामाजिक बिभेद देखिएकाले यसलाई अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । वडा अध्यक्ष खनालले राज्यले बनाएका कानुनको चाङ भएपनि कार्यन्वयन हुन नसक्दा समस्या भएको औल्याउनुभयो । 

बुटवल ११ का टोलविकास संस्थामा आवद्ध रहेका ६० जना महिलाहरु सहभागी भएको कार्यक्रममा सिर्जनशील संस्था नेपाल सीन अध्यक्ष बिजु पौडेल पाण्डले रजनोबृत्तीका बारेमा र महासचिव कल्पना ढकालले महिनावारीका समयमा देखिने समस्या, समाधानका उपायहरु र मानसिक स्वास्थ्यका बिषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागी टोलबकिास संस्थाका अध्यक्ष माया बेल्बासे र जनप्रतिनिधि माया दर्नाल ,हेमा थामीले बोल्दै महिलाको रजनोवृत्तिका बिषयमा जानकारी लिन पाएकोमा खुशी ब्यक्त गर्नुभयो । कार्यक्रमको मिडिया पार्टनरका रुपमा रेडियो मुक्ती बुटवल रहेको थियो । 

प्रत्येक बर्ष डिसेम्बर ८ मा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाउने गरिन्छ । लंैगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवसको रूपमा मनाउन थालिएको हो । अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस दिवसको यो चौथो संस्करण हो । यस वर्ष  “बालविवाह र यौनजन्य हिंसाको अन्त्यको लागि मर्यादित महिनावारी” भन्ने नाराका साथ यो दिवस मनाईएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  २१:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update