Hamroprayas
अब यसरी सोचौं

बुटवल,मंसिर ११
सधैका विहानहरुमा सवेरै उठ्नु, ५ बज्दा नवज्दै रेडियोको समाचार कक्षको ढोका खोल्न पुग्नु , किवोर्डमा औला चलाउदै नयां समाचार खोज्नु, र सवेरै रेडियोको स्टुडियोबाट सवैलाई सुनाउनु मेरो दैनिकि जस्तै बनेको छ  । मेरो बाबाले असल कार्यमा आफुलाई जहां रमाईलो लाग्छ त्यहिं भुल्न सक्नु नै सफल जीवन हो ,त्यसैले सधैं त्यहि खोजीमा लाग्नु भन्ने बेला बेला देहोर्याईरहने कुरा मेरो प्रेरणा बनेको छ ।

धरैपटक सुनेकि छु एउटा सफल पुरुषका लागि महिलाको ठुलो हात हुन्छ , म कहिलेकॉही  पुरुष बनेर सोच्छु । आफुलाई सफल ठानेर सोच्छु,एकाविहानै मेरा साना २ लालाबालाको रेखदेख बारे उनीहरुकोे खाना र अध्ययनको वातावरण बारे एउटा पुरुषले महिलाको ठाउंमा उभिएर गर्दा कस्तो देखिन्छ । पक्कै अति सुन्दर देखिन्छ ,मलाई एउटा पुरुष भएर पनि समाज संग काम गर्न अभिप्रेरित गर्ने मेरा दुई लालाबालाका बाबालाई सलाम ।।

म कुनै एउटा सहकारीको कार्यक्रममा पुगेकि थिएं । एक जना पाका स्थानिय जनप्रतिनिधी मेरो आवाज सुनेर परिचित हुन आईपुग्नुभयो मलाई देखेर तिम्रो आवाज विहानमा सुन्न पाउंदा राम्रो लाग्छ ,छोरी अझै राम्रो गर्नुपर्छ भनेर हौंसला दिनुभयो । म आफ्नो आवाजको असल स्रोता भेटेकोमा दंग थिएं । र फेरि प्राय न विहान न बेलुका भेट हुने मेरा २ सन्तानको अनुहार संझिए र अवाक बनें । कहिलेकांही घरमा सन्तानलाई समय दिन नसकेकोमा काम छोडौं र घरको रेखदेखमै समय विताउं भन्ने कयौंपटकको भट्क्याहटले फेरि जरो समाउंछ जव केही थान यस्ता असल स्रोता भेट्छु ।।

यो संगै मेरो कामको चर्चा स्याङ्गजाको गांउगांउमा गर्ने मेरा ससुरा बुवालाई संझिए बुहारीले बाहिरको काम गर्नु हुंदैन देश दुनिया बुझ्नु हुदैन भन्ने सोंचाई राखिदिएको भए म विद्रोह गर्न सक्थें या सक्थिन खै रु काम विशेषले तराई आउंदा मेरा छरछिमेकिसंग मेरो कामका बारेमा चर्चा गर्नुहंदो रहेछ । कार्यालयबाट राती अवेर घर पुग्दा किन ढिला होईन केछन् नयां समाचार भन्ने ससुरा बुबालाई सम्मान ।

हरेक छोरीका लागि बाबा संरक्षक हुन्  । साना साना खुसिहरुका लागि जत्तिनै सुकै पसिना चुहाउन किन नपरोस म जान्ने र बुझ्ने भएदेखि मेरो बाबाले गरेको प्रेम , साना साना असफलतामा टुटेको मनलाई पुन जोड्नका लागि बाबाले देखाएको सहानुभुति र संस्कारको डोरीले बाधेको छोरीलाई साहसको पखेटा हालिदिएर उड्न सघाउने र रक्षाका लागि चुनौतिका साथ रक्षक वनेर उभिने मेरो बाबा संसारमा कुनै पनि शब्द बनेको छैन सायद शब्दकोश पनि गरिव छ होला तपाई हामिलाई जस्तै जसलाई असल बाबाको ब्याख्या गर्न सकस छ ।

यदाकदा महिला प्रगतिमा पुरुष बाधक बन्यो भन्दै गर्दा मेरो मनले मेरो बाबालाई संझन्छ,मेरो श्रीमानलाई सम्झन्छ , मेरो २ भाईहरुलाई संझन्छ ,अझै भर्खर समाजसंग घुल्न भुल्न नभ्याएका मेरो छोराले दिदीलाई गरेका माया र प्रगतिमा रमाएको दृश्यले यो कुरालाई स्वीकार गर्न पटक्कै मन मान्दैन ।

जान्ने भएदेखि नै बाबासंगै बढि खुल्न भुल्न सकेकि म , ठुलै हुंदासम्म बाबाको कांधमा बसेर बाबाको जिम्मेवारीलाई नजिकबाट नियालिकी म कसरी भन्न सक्छु, बाबा म हजुरका कारण अगाडी बढ्न सकिन भनेर।।।

म सामान्य कसैको अभिनय गर्न खोंजे भने पनि ममा ठुलो कला देख्ने मेरो बाबा, म सामान्य गीत गुन्गुनाएं भने कालाकार देख्ने मेरो बाबा, म ताते ताते हिड्दा आफैलाई संसार घुमाएंझै खुसि हुंदै ताली बजाउने मेरो बाबा ,असत्य कुकर्मबाट टाढा बस्न सिकाउने मेरो बाबाभित्र म आमाको रुप पनि देख्छु र गुरुको पनि ,अनि सधै मायाले कर्ममा डोर्याउने मेरो बाबाको कारण म पछाडि परें भनेर कसरी भनुं ।    

समाज परिवर्तनका लागि समान काम पनि एउटा अंग बन्न सक्छ भन्ने विभिन्न पछिल्ला अभियान तथा कार्यक्रमहरु कानसम्म ठोक्किरहंदा मेरो ६० बर्ष उमेर कटेका बाबाले हिजोबाटै मेरा आंखा अगाडी एकाबिहानै उठेर आमाले झाडु पोछा गर्दा मेरो बाबाको गोवर सोत्तरको काम र आमा भान्छामा भुल्दा हंसिया र नाम्लो बोकेर खरबारीमा पुग्ने मेरो बाबाको दैनिकिले पनि समाज परिवर्तनका लागि केहि न केहि भुमिका निर्वाह गरेको रहेछ भन्ने आभाष हुन्छ , र गर्व लाग्छ मेरो बाबाको छोरी हुनुमा ।  

तर मेरो प्रश्न, महिलाको तुलनामा पुरुषहरु अलिकति स्वार्थी हुन्छन् भन्छन् यो हो र बाबा रु मेरो आमाले हजुरलाई कतिपटक बिरामी हुंदा झिझो नमानी स्याहार गरेको देखें तर थुप्रैपटक आमा नसक्ने हुंदा स्याहार त के नम्र ब्यवहार पनि म पटक्कै देखिन । खाली गर्नका लागि र देखाउनका लागि सहानुभुति देखाएजस्तो।। पिडा महशुस गर्न आफैलाई हुनैपर्छ र सम्बन्ध टिकाईराख्न माया संगसंगै दया पनि जोडिनुपर्ने होइन त ,अनि सवै पुरुषको स्वभाव यही हो त , बेलाबेला मेरो मनमा दोहोरीरहने प्रश्न हो यो ।  जेहोस् यो पनि भन्छन् ,श्रीमान र श्रीमती एकै रथका दुई पाङ्ग्रा हुन् । 

त्यसो भए एउटा पांग्रा खराव भए अर्को पांग्राको जीवन सफल छत रु हरेक बाबाले आफुतर्फको जीवन गुड्ने पांग्रामा समस्या हुंदा आमा जति दुखी हुन्छिन् त्यसै गरी आमातर्फ हुंदा पनि बाबालाई पनि दुख्न सकोस् । सम्वन्ध गांसिसकेपछी परियो त मरियो भन्ने नहोस् । हरेक आमाका बैवाहिक जीवन यात्रा सफल बनुन् । र ढुक्कले भन्न पाईयोस् हरेक बाबा प्रगति हो, दाजुभाई रक्षक,श्रीमान् दुखसुखको साहारा र ससुरा प्रशंसक । अनि हिंसा विरुद्धका अभियानमा राज्यले गरेको लगानी र तपाई हामिले खर्चेको समयको बचत हुनेछ । र विस्तारै संमृद्ध नेपालको सपना पुरा हुनेछ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update