Hamroprayas
आज हरि बोधिनी एकादशी मनाइँदै 

बुटवल,मंसिर ७
आज हरि बोधिनी एकादशी मनाइँदैछ । असार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ ।

कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरि बोधिनी एकादशी पर्व मनाइन्छ । हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझनुहुने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भन्ने गरिएको शास्त्रीय मान्यता छ ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

आज देशका बिभिन्न ठाउँमा मेला लाग्ने गर्दछ । मेला लाग्ने ठाउँका पालिकाहरुले आज सार्वजनिक बिदा दिएका छन् ।
यसैबिच 
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले हरिबोधनी एकादशीको अवसरमा बिहीवार सार्वजनिक बिदा दिएको छ ।  हरिबोधनी एकादशीको अवसरमा सन्धिखर्कको त्रिवेणीधाममा मेला लाग्ने तथा सन्धिखर्क र चुत्राबेसी बजारमा देउसी, भैली पनि नाच्ने गरिन्छ । नगर प्रमुखस्तरीय बैठकले सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ ।

हरिबोधनी एकादशीको अवसरमा नगरपालिका भरका वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमा बिदा दिएको नगरपालिकाको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update