Hamroprayas
विकास निर्माणमा हातेमालो गर्न गाउँघर आईपुगेको छु : सांसद गैरे

पाल्पा,कार्तिक २५
नेकपा एमाले तिनाउ कमिटीको आयोजनामा शनिवार तिनाउको वडा नं २ को मितेरी गाउँ र वडा नं ४ को सत्यवती–छाप गाउँमा पर्व विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भए । कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद माननीय ठाकुर गैरेले स्थानीय जनताहरु  र पार्टी कार्यकर्ताहरुसँग विकास निर्माणमा हातेमालो गर्न गाउँघर आईपुगेको बताउन्भयो । 
साथै उहाँले गाउँमा रहेका बाटोघाटोको समस्या,शैक्षिक अवस्थामा गर्नुपर्ने सुधार,खानेपानी,विजुली ,पुलपुलेसका बारेमा जनताको मागलाई सम्बोधन गर्न आवश्यक रहेको बताउँदै गठबन्धन सरकार रहेसम्म जनताको माग पूरा गर्न असजिलो रहेको बताउनुभयो ।  नेकपा एमालेको एकल बहुमतले नै जनताको माग सम्बोधन हुने उहाँको भनाई थियो । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य दलबहादुर गुरुङले जनताका घरदैलामा पुगि जनताको मनोभावना बुझि पार्टी र जनप्रतिनिधिहरुकाबीच सम्बन्ध प्रगाढ बनाउन पर्व विशेष शुभकामना आदान–प्रदान कार्यक्रम  उल्लेखनीय रहेको बताउनुभयो ।

कार्यक्रममा तिनाउ गाउँपालिकाका संस्थापक अध्यक्ष ओमबहादुर घर्तिमगरले तिनाउका जनप्रतिनिधिहरु जनतामुखी भई विकास निर्माणमा सहभागी हुन अनुरोध गर्नुभयो ।गाउँपालिकाका अध्यक्ष एवम् पार्टी जिल्ला कमिटी सदस्य प्रेम श्रेष्ठले जनतालाई विकास निर्माणमा जोड्दै नेकपा एमालेमा गोलवन्ध गराउँदै लैजाने बतनउनुभयो  । जनतालाई स्वरोजगार र श्रमप्रति आकर्षित गराउनका लागि कृषिमा जोड्ने अभियानमा पालिका गतिशील रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

कार्यक्रममा पार्टी गाउँ कमिटी अध्यक्ष रोमबहादुर लम्तरी ,वडा नं २ का पार्टी कमिटी अध्यक्ष रामबहादुर थापा,वडा नं ४ पार्टी कमिटीका अध्यक्ष लालबहादुर दर्लामी ,वडाध्यक्ष तुलबहादुर आले,ईन्द्रबहादुर गाहा,हेमबहादुर गाहा,तिलबहादुर ,चुलवीर ,टेकबहादुर सुनारी,कमला सुनार लगायत स्थानीयहरुले पार्टीले जनताका कामलाई प्राथमिकताकासाथ हेर्नुपर्ने बताएका थिए । समस्या समाधानका लागि जनप्रतिनिधिहरुले सक्दो पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

 


 

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  २१:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update