Hamroprayas
तिनाउमा जनतासँग जनप्रतिनिधि र शुभकामना आदान–प्रदान

पाल्पा, कार्तिक २४
नेकपा एमाले,तिनाउ गाउँ कमिटी,पाल्पाले तिहार,छठ र नेपाल सम्वतको पावन अवसरमा जनतासँग जनप्रतिनिधि र शुभकामना आदान–प्रदान कार्यक्रम तिनाउ गाउँपालिकाभित्रका सबै वडाहरुमा शुरु गरेको छ।कार्यक्रम कार्तिक २७ गतेसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा नेकपा एमाले पोलिट ब्यूरो सदस्य एवम् संघीय सांसद ठाकुर गैरे, लुम्बिनी प्रदेश कमिटीका सदस्य दलबहादुर गुरुङ,तिनाउ गाउँपालिकाका संस्थापक अध्यक्ष ओमबहादुर घर्तिमगर,राष्ट्रिय प्रतिनिधि परिषद सदस्य डा. रामबहादुर राउत,तिनाउ गाउँपालिकाका प्रवक्ता यादवप्रसाद अर्याल,वडा नं.१ का वडाध्यक्ष भुवानसिंह चिदी ,पार्टी गाउँ कमिटीका अध्यक्ष रोमबहादुर लम्तरी,उपाध्यक्ष साबित्रा राना,उपसचिव लक्ष्मण कुमाल,वडा नं१ वडा कमिटीका अध्यक्ष ऐमानसिंह चिदी लगायतका नेता कार्यकर्ताहरुको उपस्थितिमा जनताका घरदैलामा पुग्ने क्रम जारी राखेको छ । 

स्थानीय जनताहरुले बाटोघाटो,पुलपुलेसा,खाोपानी,पर्यटकीय क्षेत्रको विकास,सुरक्षा व्यवस्था,उन्नत जातका बीऊवीजन, आधुनिक कृषि प्रणाली,सिचाई,विद्यालय सुधार, भौतिक निर्माण ,वन,वातावरण संरक्षण,विजुली,सञ्चारका साथै बसाइँसराइलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । गाउँमा विजुली,बाटो,धारापँधेरा पुगेपनि स्वास्थ्य सेवा र शिक्षामा सोचेजति प्रगति हुन नसक्दा गाउँबाट सहरतिर बसाइँसराइ बढ्दै गएको स्थानीयहरुको चिन्ता र गुनासो रहेको छ । 

वडा नं १ मा बाह्रै महिना यातायात सञ्चालनका लागि कुर्मानखोलामा पुल,झ्याङ्गला गाउँमा पुग्न बर्रेघाटमा मोटरेवल पुल,थानिडाँडा माविको भौतिक निर्माण,गणेशटोल नुवाकोटमा विद्युत आपूर्तिमा समस्या भएको गुनासा स्थानीय बासिन्दाहरुले आफ्ना जनप्रतिनिधिहरुका माझ प्रस्तुत गरेका छन् । स्थानीय वडाध्यक्षहरुले आआफ्ना वडाहरुमा वडा र पालिकाको वजेटले विकास निर्माणका  कामहरु गर्दै आएको बताए । गाउँपालिकाका संस्थापक अध्यक्ष ओमबहादुर घर्तिले आफ्नो कार्यकालमा विकासको जग खनिएको र अहिलेको नेतृत्वले पूरा गर्ने अभियानमा जुटेको बताउनुभयो । 

 

जनताहरुका माग सुनिसकेपछि संघीय सांसद माननीय ठाकुर गैरेले जनताका समस्याहरु सुन्नमात्र नभई समाधानका लागि पहल गर्न आफू र आफ्नो पार्टी जनताका घरदैलामा आईपुगेको बताउनुभयो । उहाँले चुनावदेखि चुनावसम्म नेता देखिने परम्परालाई आफूले तोड्ने वचन स्थानीय बासिन्दाहरुलाई सुनाउनुभयो । गाउँका समस्याहरु समाधान गर्ने ठाउँमा आफू रहेको र समाधानका लागि पहल गर्ने वचनवद्वता समेत प्रकट गर्नुभयो ।

नेकपा एमाले जनमुखी पार्टी भएको हुँदा जनताका समस्यालाई आवश्यकताका आधारमा सम्बोधन गर्दै जान जनताकै घरदैलोमा पार्टीका नेता र कार्यकर्ताहरु आईपुगेको प्रदेश कमिटी सदस्य दलबहादुर गुरुङले बताउनुभयो त्यसै गरि एमाले नेता डाक्टर राउतले जनता जगाउने र पार्टीलाई  सशक्तीकरण गर्दै अघि बढेको उल्लेख गर्नुभयो । 

उक्त कार्यक्रममा बेवरे चिउरी गौडा सावउसकी सचिव हरिकला कुमाल,बेलचौर आधारभूत विद्यालयका अध्यक्ष अमबहादुर सुनारी,प्रअ टोमबहादुर पुन,नुवाकोट खानेपानी संस्थाका अध्यक्ष ताराप्रसाद बस्याल ,समाजसेवी चन्द्रबहादुर क्षेत्री ,विष्णु कुमाल,लक्ष्मण जीसी, थानिडाँडा माविका अध्यक्ष शेरजंग थापा लगायतले आफ्ना गाउँघरमा जनप्रतिनिधिहरु र नेता आउँदा खुसी लाग्ने र समस्याहरु समाधान हुनेमा विश्वास जागेको समेत बताएका थिए । आफ्नो मतको सहीसदुपयोग भएकोमा आफूहरु खुसी हुने अवसर मिलेको समेत उनीहरुले बताएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update