Hamroprayas
 सहकारीलाई चुस्तदुरुस्त र गतिशील बनाऔं 

पाल्पा,कार्तिक २२
तिनाउ गाउँपालिका सहकारी शाखाले सहकारी सिद्धान्त,वर्तमान समस्या,चुनौती र समाधानका बाटा विषयमा छलफल एवं अन्तक्र्रियात्मक गोष्ठी बुधवार,दोभानमा सम्पन्न गरेको छ । 

गोष्ठीमा तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले नेपालमा सहकारीप्रति विभिन्न समस्याहरु देखा परिरहेको र थप चुनौती थपिदै आएको कारण तिनाउमा सहकारीलाई चुस्तदुरुस्त र गतिशील बनाई समस्याहरुबाट दूर राख्नका निम्ति यस्तो खालेको अन्तक्र्रियात्मक गोष्ठी आयोजना गरी बेलैमा सचेतना अपनाइएको बताउनुभयो ।

 गोष्ठीमा गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले तिनाउमा रहेका सहकारीहरुलाई समस्या र चुनौतीबाट टाढै राखी स्वच्छ छविको सहकारी बनाउन पालिकाले प्रयत्न गर्दै आइरहेको प्रमाणको यस किसिमको गोष्ठी रहेको उल्लेख गर्नुभयो । गोष्ठीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले तिनाउका सहकारीको वर्तमान अवस्था बुझ्न र परेका समस्याहरु भए समाधानका निम्ति पहल गर्नका निीम्त गोष्ठीको आयोजना गरेको बताउँदै समस्या आउनु अघि नै सचेतनामुखी अभियान सञ्चालन गर्नका निम्ति यस्तो खाले कार्यक्रमको सुरुआत  गरिएको बताउनुभयो । 

उक्त गोष्ठीमा सहकारी अभियन्ता दलबहादुर गुरुङले सहकारीका सिद्धान्त,वर्तमान समस्या,चुनौती र समाधानका बाटामा केन्द्रीत भएर  आफ्नो कार्यपत्र प्रस्तुती गर्नुभएको थियो  । गोष्ठीमा सहभागीहरुका तर्फबाट टीकाराम भण्डारी,कमल ढकाल,यमुना जीसी,मीना विष्ट,हुमनाथ भण्डारी,केशव भण्डारी लगायतले समयमै यस्तो गोष्ठीले आफ्ना सहकारीहरुलाई सचेत गराएको र आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमको निरन्तरताको कामना गरेका थिए । 

कार्यक्रम सहकारी शाखाका प्रमुख शिव आत्रेयको सञ्चालन,पालिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । गोष्ठीमा गाउँपालिकाभित्र रहेका २५ वटा सहकारीहरुमध्ये २३ वटा सहकारीका अध्यक्ष र व्यवस्थापकहरुको सार्थक सहभागिता रहेको थियो । 


 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update