Hamroprayas
 उद्योगीका समस्या सम्बोधन नहुँदासम्म देशमा आर्थिक विकास सम्भव छैन - पूर्व मुख्यमन्त्री गिरी

बुटवल,कार्तिक २०
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले उद्योगीहरुका समस्याहरुको सम्बोधन नहुँदासम्म देशमा आर्थिक विकास र औद्योगिक बातावरण बन्न नसक्ने बताउनुभएको छ  । उहाँले लुम्बिनी प्रदेशलाई औद्योगिक हव बनाउन प्रदेश सरकार र उद्योगीहरुवीचको सम्बन्ध राम्रो हुनु पर्ने धारणा राख्दै उद्योगीहरुसंग समन्वय गरेर अगाडी बढ्न आग्रह गर्नुभयो । 
आइतवार रुपन्देही उद्योग संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा बोल्दै गिरीले सो कुरा बताउनुभएको हो । 

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका गिरीले राजनीतिक परिवर्तनले मात्र आर्थिक विकास हुन नसक्ने हुदाँ राष्ट्रको समृद्धिको लागि स्वदेशी उत्पादन बढाउँदै त्यसको प्रयोगमा सबैको ध्यान जानु पर्नेमा जोड दिनुभयो । संघको सभाहलमा आयोजित कार्यक्रममा ४५ औ साधारण सभा तथा २३ औ अधिवेशनबाट निर्वाचित कार्यसमितीको पदस्थापन कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी, लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलम तथा निर्वाचन समितिका संयोजक यमलाल खनालले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई शपथ गराउदै प्रमाणपत्र वितरण गर्नुभएको थियो । 


कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलमले उद्योगीहरुमा संस्कार परिर्वतन गर्नु जरुरी भएको बताउँदै संघले सामाजिक क्षेत्रको उत्तरदायित्व अन्तरगत अगाडि बढाएको मुटु अस्पतालको स्थायित्वको लागि गम्भिर बन्न आग्रह गर्नुभयो । बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले स्थानीय सरकार उद्योगीहरुको समस्यामा सधै गम्भिर रहेको उल्लेख गर्नुभयो । उहाँले नीजि क्षेत्रसँग स्थानीय सरकार सहकार्य गरेर अगाडि बढ्दै आएको र आगामी दिनमा पनि ठोस कार्यका लागि सधै साथमा रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा संघका पूर्व अध्यक्ष बाबुराम बोहोराले पछिल्ला दिनमा उद्योग व्यवसाय क्षेत्र संकटमा परेको उल्लेख गर्दै औद्योगिक मुद्दाहरुलाई राज्यले सम्बोधन गर्न नसकेको भन्दै गुनासो गर्नुभयो । संघका निबर्तमान अध्यक्ष माधव प्रसाद पौडेलले संघको गरिमा र लक्ष्यलाई आफ्नो कार्यकालमा तलमाथि हुन नदिएको उल्लेख गर्दै संघको इतिहास र अग्रजहरुको मार्ग दर्शनलाई आगामी दिनमा पनि नयाँ कार्यसमितिले सधै आत्मसाथ गरेर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष दिलिप सापकोटाले प्रतिवद्धता मन्तव्य राख्दै उद्योगीहरुका तमाम समस्या समाधानका लागि आफ्नो नेतृत्वको कार्यसमितिले कुनै पनि कसुर बाकी नराख्ने बताउनुभयो  । उहाँले संघको संस्थागत विकास, उद्योगीका क्षमता विस्तार र सामाजिक क्रियाकलापलाई निरन्तरता दिने जनाउनुभयो  ।

दुई चरणमा भएको कार्यक्रमको पहिलो सत्रको अध्यक्षता अध्यक्ष माधव प्रसाद पौडेलले र सञ्चालन महासचिव हरिबहादुर खत्रीले गर्नुभएको थियो भने दोस्रो चरण नवनिर्वाचित अध्यक्ष दिलिप सापकोटाले कार्यक्रमको अध्यक्षता र महासचिव हिरामणी भट्टराईले संचालन गर्नुभएको थियो । 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update