Hamroprayas
रोटरी बुटवल साउथको अध्यक्षमा ई.दुजेन्द्र बस्नेत

बुटवल,असार २६
रोटरी क्लव अफ बुटवल साउथको अध्यक्षमा ईञ्जिनियर दुजेन्द्र बस्नेतले पदभार ग्रहण गर्नुभएको छ । मंगलबार साँझ बुटवलमा आयोजना गरिएको क्लवको २४ औं इन्टलेशन सेरेमोनीमा वर्ष २०२४/२५ का लागि अध्यक्षमा निर्वाचित बस्नेतले पदभार ग्रहण गर्नुभएको हो । बर्ष २०२३ /२४ का अध्यक्ष शारदा पंगेनीले बर्ष २०२४/२५ का अध्यक्ष ईञ्जिनियर दुजेन्द्र बस्नेतलाई पद हस्तान्तरण गर्नुभएको हो ।

रोटरी इयर २०२४/२५ का लागि रोटरी क्लव अफ बुटवल साउथमा इमिडिएट पास्ट प्रेसिडेन्टमा शारदा पंगेनी, ईलेक्ट प्रेसिडेन्टमा विष्णुमायाँ चिदी, प्रेसिडेन्ट नोमिनीमा नित्यानन्द ज्ञवाली, सचिवमा अधिवक्ता किसु शर्मा, कोषाध्यक्षमा मुकुन्दहरी ज्ञवालीलाई चयन गरिएको छ ।

त्यस्तै क्लव एडमिन चियरमा ज्ञानेन्द्र गिरी, सर्भिस प्रोजेक्ट चियरमा ध्रुव केसी, रोटरी फाउण्डेसन चियरमा रामबन्धु अर्याल अंकित, मेम्बरशिल चियरमा नेत्रप्रसाद पाठक, पब्लिक इमेज चियरमा सन्तोष केसीलाई चयन गरिएको छ ।
त्यसैगरी क्लव इडिटरमा निशानबाबु कार्की, सर्जेन्ट एण्ड आर्ममा पूर्व अध्यक्ष तारानाथ कंडेल, क्लव डाईरेक्टरमा पूर्वअध्यक्ष सिए प्रेम भुर्तेल र टंकनाथ अधिकारीलाई चयन गरिएको छ । क्लवको सहसचिवमा कृष्ण भुसाल र सहकोषाध्यक्षमा बालकृष्ण भण्डारीलाई चयन गरिएको सचिव किशु शर्माले जानकारी गराउनु भयो । बोर्डका पदाधिकारीहरुलाई अध्यक्ष बस्नेतले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो । 

कार्यक्रममा बोल्दै प्रतिनीधि सभा सदस्य बासुदेव घिमिरेले काँग्रेस एमाले बिचमा भएको सत्ता समिकरणले राजनीतिक स्थायित्व हुने हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले केन्द्रमा स्थिर सरकार बन्यो भने प्रदेशमा पनि स्थिर सरकार बन्ने र त्यसले परिणाम पनि दिने विश्वास व्यक्त गर्नुभयो । सरकारले रोटरीलाई हेर्ने दृष्टिकोणमा सुधार र ग्राण्ड प्रोजेक्टमा बाहिरबाट आउने पैसाको लागि समाज कल्याण परिषदमा दर्ता हुनु पर्ने प्रावधानले अफ्ठ्यारो भयो भन्ने छ, त्यसका लागि आफूले सक्दो सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।उहाँले क्लवहरुले साना साना कार्यक्रम भन्दा पनि मेघा प्रोजेक्ट गर्न सुझाव दिनुभयो । सूक्ष्म अनुसन्धान गरेर क्षमता अनुसार आवश्यकतामा आधारित काम गर्न सकियो भने त्यसले रुपान्तरणमा समेत सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।   पदभार ग्रहण गर्दै क्लवका नवनिर्वाचित अध्यक्ष बस्नेतले बुद्धि, बिवेक र क्षमताले भ्याएसम्म रोटरी अभियानलाई सगरमाथाको शिरमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । यसै वर्ष क्लव स्थापना भएको २५ औं वर्ष पुग्न लागेकाले रजत जयन्ती वर्षमा रोटरीका फोकस एरियामा आधारित २५ वटा कार्यक्रम गर्ने घोषणा गर्नुभयो । बस्नेतका अनुसार क्लवले शान्तिसंग सम्बन्धित कार्यक्रम गर्न लागेको छ भने अर्को सिग्नेचर प्रोजेक्टको रुपमा अटिजम स्कुल सञ्चालन गर्ने तयारी गरेको छ ।

त्यस्तै क्लवका निवर्तमान अध्यक्ष शारदा पंगेनीले क्लवले वर्षभरीमा गरेका कार्यक्रमहरुको बारेमा जानकारी गराउँदै सम्पन्न हुन बाँकी कार्यक्रमलाई पुर्णता दिन नवनिर्वाचित अध्यक्षलाई आग्रह गर्नुभयो । उहाँले क्लवले गर्ने हरेक गतिविधिमा आफ्नो पूर्ण साथ सहयोग रहने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।सोही अवसरमा भगिनी क्लवहरु रोट्रयाक्ट क्लव अफ बुटवल साउथ र रोट्रयाक्ट क्लव अफ तिनाउ सिटिलाई जनही ४५ हजार रुपैंया सहयोग प्रदान गरिएको छ ।

कार्यक्रममा ईमिडिएट पास्ट डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजू, क्लवका संस्थापक अध्यक्ष डा. रामचन्द्र आचार्य, रोट्रयाक्ट डि.आर.आर. विक्रम क्षेत्री, क्लवका प्रेसिडेन्ट काउन्सिल अध्यक्ष ध्रुवकुमार धिताल, एसाईन एजी हिमाल गैरे, रोटरी बुटवलका अध्यक्ष प्रज्वल थान्जु लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम सचिव किशु शर्माको सञ्चालनमा भएको थियो ।


 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update