Hamroprayas
वाङ्मय प्रतिष्ठानद्वारा समीक्षा गोष्ठी सम्पन्न 

बुटवल,असार २३

प्रेस सेनानी नारायणप्रसाद पौडेलद्वारा लिखित लुम्बिनी कपिलवस्तु अभियान र अभिलेखु पुस्तकको  बुटवलको सुख्खानगर स्थित होटल मेरिगोल्डमा साहित्यकारहरुबाट समीक्षा तथा टिप्पणी गरिएको छ । कार्यक्रममा लुम्बिनी लेखक नारायण पौेडेलको व्यक्तित्व र कृतित्वमाथि चर्चा गरिएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका  सभामुख तुलाराम घर्ती मगरले पुस्तकको समीक्षा गर्दै नारायण पौडेललाई बधाई शुभकामना दिदैं पठन संस्कृतिको विकासको अभाव भएको बताउनु भएको छ ।  लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीले आयोजना गरेको कार्यक्रममा पठन संस्कृतिको विकास गर्न अभियान सञ्चालन गर्न जरुरी रहेको बताउनु भयो ।   

साहित्य, कला र संस्कृतिको संरक्षण र प्रबर्द्धनको लागि प्रज्ञा प्रतिष्ठान सम्बन्धि ऎन बनाउन तयार रहेकोे बताउनु हुँदै उहाँले  त्यसको पहल गर्ने बताउनु भयो ।  उहाँले प्रदेश सभा सदस्यहरुलाई  पठनमा अभिरुचि जगाउन आफूले प्रदेश पुस्तकालय निर्माण गरेको बताउनु हुँदै आम नागरिकहरुमा पठन संस्कृतिको विकास गर्न बौद्धिक वर्ग लाग्नु पर्ने बताउनु भयो । 

कार्यक्रममा गजल शिरोमणि प्राज्ञ बुँद रानाले कृतिको विषयमा टिप्पणी गर्दै राज्यका सबै अङ्गहरु निकम्मा हुँदै जान थालेको र सर्वत्र भ्रष्टाचार बढेकोले प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाहरुतिर राज्यको ध्यान जान नसकेको बताउनु भयो ।उहाँले सभामुखसँग कला,साहित्य र सँस्कृतिको विकासको लागि प्रज्ञा प्रतिष्ठान गठन गर्न अनुरोध गर्नु भयो । साथै प्रेस सेनानी नारायण पौडेलद्वारा विगतमा गरिएको देशभक्तिपूर्ण योगदानको मुक्तकन्ठले प्रशंसा गर्नु भयो । मार्क्सवादी सौन्दर्यशास्त्री दिल साहानीले नारायण पौडेलको देशभक्ति अभियानको प्रशँसा गर्दै पुरातत्व, किंवदन्ती, वास्तुको प्रमाण र तथ्यमा टेकेर पर्यटकीय तथा साँस्कृतिक स्थलहरुको निर्माण र विकास गर्नुपर्ने बताउनु भयो । 

वरिष्ठ साहित्यकार ऋषिराम भुसालले पुस्तकको वाह्य तथा आन्तरिक बनोट बुनोटको विषयमा सुझाव दिँदै विभिन्न स्थानहरुमा आस्थाका आधारमा साँस्कृतिक स्थलहरु बन्दैे जानु स्वभाविक हो । यो जनताको सँस्कृति हो भन्दै नारायण पौेडेलले लुम्बिनी नेपालमा हैन भारतमा पर्छ भनेर विशवव्यापी रुपमा भ्रम छरिरहेको अवस्थामा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने प्रमाणित गर्न मेचीकाली पैदल अभियानका आधारमा ठूलो योगदान दिनुभएको हो भन्नु भयो । 

कार्यक्रममा प्रेस सेनानी अर्जुन ज्ञवाली,  प्रेस सेनानी डा। बालकृष्ण चापागाईं, वरिष्ठ पत्रकार डिआर घिमिरे, वरिष्ठ पत्रकार दिपक ज्ञवाली, सँस्कृतिविद झपेन्द्र जिसी, पर्यटनविद दलबहादुर गुरुङ, साहित्यकार रुद्र ज्ञवाली , साहित्यकार सरु ज्ञवाली, लेखक तथा पत्रकार इन्दिरा अर्याल , सँस्कृतिविद उत्तमकुमार पराजुली, अधिवक्ता पदमबहादुर कार्की , अधिवक्ता ज्ञानु  केसी, साहित्यकार गङ्गाराम घिमिरे, बौद्धिक व्यक्तित्व टेकराज पौडेल,  लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष ऋषि आजाद , रुपन्देही जिल्ला  उपाध्यक्ष कृष्ण गाउँले लगायतले  गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रचार प्रसारमा प्रेस सेनानी नारायण पौडेलको योगदान महत्त्वपूर्ण रहेको बताउनु भयो ।

कार्यक्रममा स्तम्भकार समाजको तर्फबाट उक्त सँस्थाका अध्यक्ष प्राध्यापक माधवप्रसाद पौडेलले प्रेस सेनानी डा। बालकृष्ण चापागाई र नारायण पौडेललाई अबीर दोसल्लाले सम्मान गर्नु भएको थियो ।  उपस्थित सबै वक्ताहरुले प्रेस सेनानी नारायण पौडेललाई बधाई दिदैं सभामुखलाई लुम्बिनी प्रदेश प्रज्ञा प्रतिष्ठान गठन पक्रिया अगाडि बढाउन सुझाव दिएका थिए ।  

कार्यक्रमको सँयोजन, प्रबन्धन, श्रोत व्यवस्थापन पूर्व जिसिअ डबल बिसीले गर्नु भएको थियो । कार्यक्रममा लुम्बिनी वाङमय प्रतिष्ठान नेपालका कोषाध्यक्ष  लक्ष्मण ज्ञवाली, केन्द्रीय सदस्य तिलक लामिछाने, समृद्धि सरोकार केन्द्रको अध्यक्ष गणेश घिमिरे, पूर्व गाविस अध्यक्ष क्षेत्रबहादुर खत्री, प्रेस सल्लाहकार रुद्रहरि कुँवर र विद्यार्थी सिर्जना पाण्डेको उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता कृष्ण गाउँलेले र सञ्चालन ऋषि आजादले गर्नु भएको थियो ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update