Hamroprayas
छुरा प्रहारबाट घाइते युवा संघका नेताको मृत्यु, छानबिन र कारबाही गर्न युवा संघ रुपन्देहीको माग

बुटवल,असार १९ 
राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्व सदस्य बुटवल–७, निवासी ३६ वर्षीय युवा रवि थापाको चक्कु प्रहार गरी हत्या भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मंगलबार निधन भएको हो । उनीमाथि गत जेठ २ गते बुटवल कालिकानगरको एक रेष्टुरेन्टमा छुरा प्रहार भएको थियो ।

बुटवल उपमहानगरपालिका वडा नं.७ निवासी राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीका पूर्व सदस्य रवि थापा मगरको जेठ २ गते बुधबार साँझ बुटवलकै कालिकानगरमा रहेको एक रेष्टुरेण्टमा कार्यरत रहेको अवस्थामा उनीमाथि छुरा प्रहार भएको र घाइते भइ उपचारका क्रममा निधन भएको युवा संघ रुपन्देहीका अध्यक्षा विकासजंग बस्नेतले जानकारी दिनुभयो ।

एउटा जुझारु र उर्जाशिल युवाको अल्पायुमा भएको निधनले हामीलाई अत्यन्तै पीडाबोध गराएको र घटनामा संलग्नलाई कानुनी कारबाहीका लागि प्रहरीसमक्ष ध्यानाकर्षण गराइएको युवा संघका जिल्ला अध्यक्ष बस्नेतले बताउनुभयो । गत जेठ २ गते भएको घटनामा संलग्न व्यक्तिको हालसम्म पनि खोजी कार्य नहुनु अत्यन्तै दुखद विषय रहेको बताउँदै उनले घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीकाा लागि आग्रह गर्दै इलाका प्रहरी कार्यालय बुटवलमा ध्यानाकर्षण गराइएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । 

रेष्टुरेण्टमा रहेको सिसिटिभी क्यामेरामा घटनाको विवरण कैद भई अपराधीको पहिचान समेत खुलिसकेको अवस्थामा पनि हालसम्म उनीहरु पक्राउ नगरिएको युवा संघको गुनासो छ । प्रहरी अनुसन्धान प्रति पनि प्रश्नचिन्ह खडा हुनेगरी गतिविधि भएकाले संगठनले प्रहरी कार्यालयमै पुगेर ध्यानाकर्षण गराइएको अध्यक्ष बस्नेतको भनाइ छ ।

‘अनुसन्धान मार्फत अपराधीहरुलाई सजाय दिने काममा ढिलासुस्ती र लापरवाही भएको खण्डमा संगठनले कडा कदम चाल्ने विषय समेत जानकारी गराइएको छ’ प्रहरीलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । घटनामा संलग्नलाई तत्काल पक्राउ गरी क्षतिपूर्ति सहित आवश्यक कानूनी कारवाही गर्न युवा संघ रुपन्देहीले माग गरेको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले थापाको हत्या भएको र यसबारेमा अनुसन्धान अघि बढेकाले छिटै पक्राउ गरी कानुनी कारवाही अघि बढाइने बताउनुभयो ।
 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update