Hamroprayas
आज असार १५,  राष्ट्रिय धान दिवस मनाईदै

बुटवल,असार १५
आज असारको १५ अर्थात् राष्ट्रिय धान दिवस । नेपालमा विविध कार्यक्रमका साथ औपचारिक रुपमा धान दिवस मनाइँदै  छ ।विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।

यस वर्ष जलवायु मैत्रि कृषि ,धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ धान दिवस मनाउन लागिएको हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् ।आजको दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका वाली गित गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवा र युवती रोपाहारले खेतका गह्राको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दहीच्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्यूरा खाई असार १५ मनाउँछन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दहीच्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दहीच्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।बुटवल उपहमहानगरले बुटवल १८ अमरदुबौलिमा बिशेष कार्यक्रमको आयोजना गरि धान दिवस मनाउँदैछ । 
 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update