Hamroprayas
वनको संरक्षणमा सबै नागरिक जागरुक हुन आवश्यक

पाल्पा,चैत २२
वन र मानव जीवनचक्रको सम्बन्ध एक आपसमा परिपूरक रहेको एक कार्यक्रममा बोल्ने सहभागीहरुले बताएका छन् ।मानिसका दैनिक जीवनमा आवश्यक पर्ने वनस्पतिहरु वनबाटै प्राप्त गर्न सकिने भन्दै वनको संरक्षण आजको आवश्यकता रहेकोमा उनीहरुले जोड दिएका हुन् । 

सामुदायिक वन समन्वय समिति पाल्पा तिनाउको आयोजना ,तिनाउ गाउँपालिका पाल्पा र बुटवल उपमहानगरपालिका रुपन्देहीको प्राविधिक तथा आर्थिक सहयोगमा बिहिबार तिनाउ ३ मा पाल्पामा आयोजना गरिएको १ दिने टीम बिल्डिङ्ग तालिममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन्। 

तालिमको सहजीकरण गर्दै अध्येता तथा अभियन्ता घनश्याम कोइरालाले वनको संरक्षण ,सम्बर्धन र सन्तुलन कायम राख्न जरुरी भएको बताउनुभयो। प्रकृतिको प्रधानतामा वन, पृथ्वी, र जमिनको सम्बन्ध रहेको बताउँदै कोइराललाले वनको एक्लैले संरक्षण गरेर नहुने भन्दै वनको बिषय पाठ्यक्रममा राखेर पठनपाठन गराउनुपर्ने बताउनुभयो । 

उहाँले वनको संरक्षण र सम्बद्र्धनका लागि बालबालिकालाई सानैदेखि जानकारी हुन आवश्यक रहेको बताउनुभयो । कोइरालाले वन सम्बन्धी बनेका राम्रा कानुन कार्यन्वयन हुनुपर्ने र अब बन्ने वन नीति वनमैत्री बनाउन समन्वय समितिको भूमिका पनि महत्वपूर्ण रहेको बताउनुभयो । 

सामुदायिक वनका पदाधिकारी र सदस्यहरुका लागि आयोजना गरिएको तालिममा अभियन्ता युवराज घिमिरेले बैठक संचालन, समितिको एकता र समन्वयात्मक भूमिका बिषयमा सहजीकरण गर्नुभएको थियो । घिमिरेले समितिको एकताले वनका हरेक कृयाकलाप राम्रोसँग अगाडि बढाउन सकिने बताउदै समुदायका नागरिकहरुलाई वनको महत्व यसका फाईदा, वन डढेलोबाट हुने नोक्सानीका बिषयमा जानकार बनाउनुपर्ने बताउनुभयो । 

गर्मीयाम शुरु भईसकेपछि वनमा लाग्ने डढेलोबाट कसरी जोगिने, वन जोगाउन कस्ता कस्ता कार्य गर्नुपर्छ र सदस्यहरुको क्षमता विकासले वन संरक्षणका लागि र जनचेतनाका लागि पनि सहयोग पुर्याउछ भन्ने उद्देश्य राखेर कार्यक्रमको आयोजना गरिएको सामुदायिक वन समन्वय समिति तिनाउ पाल्पाका अध्यक्ष दलबहादुर गुरुङले बताउनुभयो। 

कार्यक्रममा सहभागीहरुकातर्फ सदस्यहरु हरिकला कुमाल ,नारायणी पाण्डेय ,बोमबहादुर आलेले बोल्दै वन र मानव जीवनको सम्बन्ध र संस्थागत एकताका बिषयमा जानकारी लिन पाउँदा खुशी लागेको बताउनुभयो । समितिका सल्लाहकार राजेश श्रेष्ठले यस्ता खालका तालिमले धेरै कुरा सिक्न मद्दत पुग्ने बताउदै  वनको संरक्षणका लागि पालिकाबासी एकजुट हुन आवश्यक रहेको बताउनुभयो । कार्यक्रम समितिका अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षता र महासचिव गणेश रास्कोटी सञ्चालनमा सम्पन्न भएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update