Hamroprayas
तिनाउ पाल्पाका महिलाहरुले बनाए थाकलबाट आधुनिक हस्तकलाका सामान

पाल्पा,चैत २०
कच्चा पदार्थ थाकलबाट बनेका आधुनिक हस्तकला तथा उपहारजन्य सामग्री निर्माणसम्बन्धि तालिमको मंगलवार तिनाउको नुवाकोटमा प्रमाणपत्र वितरण तथा समापन कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि सामुदायिक वन समन्वय समिति,तिनाउका अध्यक्ष दलबहादुर गुरुङले स्थानीय सामुदायिक वनहरुमा पाइने थाकलबाट बन्न सक्ने झोला, टोपी,पर्स र चप्पल बनाएर स्थानीय,राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्न सकिने भएको हुँदा आर्थिक समृद्धिका लागि तालिम प्राप्त ब्यक्तिहरु कर्मशील भएर लाग्नुपर्ने बताउनुभयो । 

स्थानीय समूहका उपभोक्ताहरुले थाकलको सहि सदुपयोग गरी सिकेको ज्ञान,सीप र क्षमता प्रयोग गरेर मनग्य आर्जन गर्न सकिने बताउनुभयो  । तालिमको भरमग्दुर प्रयोग गर्न सकेमा बजारीकरणका लागि कुनै कठिनाई नहुने समेत उहाकोे भनाई थियो ।

महिना दिनसम्म सञ्चालित उक्त तालिमका लागि थप पुनर्ताजगी तालिमको समेत प्रवन्ध गर्न सकिने प्रमुख अतिथि गुरुङले आशवासन दिनुभयो । तालिममा सहभागी डेढ दर्जन महिलाहरुलाई उहाँले प्रमाण पत्र समेत वितरण गर्नुभएको थियो । 

विशिष्ट अतिथि समन्वय समितिका सल्लाहकार राजेश श्रेष्ठले थाकलबाट बन्ने सामानहरुलाई देश,विदेशसम्म पुराउन समूहले पहल गर्नुपर्नमा जोड दिनुभयो । उत्पादनमात्र ठूला कुरो होइन ,बजारीकरण महत्त्वपूर्ण कुरा भएको उहाँले जानकारी गराउनुभयो । 

तालिममा प्राविधिक सहयोगीका रुपमा ओम राजश्री मल्टी एग्रो प्रालिका प्रोप्राईटर युवराज गैरेले अन्तर्राष्ट्रिय वजारमा बिक्रीवितरण गर्नुपर्ने भएकोले वस्तु उत्पादनमा फिनिसिङ्ग हुनुपर्ने,आफूले गर्न खोजेको र गरिने काममा बढी सकारात्मक हुनुपर्ने भएको बताउनुभयो । 

सिकारुले बनाएका उत्पादनहरु आफूले खरिद गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्ने बताउनुभयो । सहयोगी प्रशिक्षकका रुपमा समेत आफ्नो कम्पनीले सिकारुहरुलाई अवसर दिने बताउनुभयो । तालिममा तिनाउ सब डिभिजन वन कार्यालयका फोरेष्टर नारायणप्रसाद घिमिरे,सहभागीहरुका तर्फबाट रुपमाया थापा,सावित्रा गुरुङले एक महिने तालिम बढी नै प्रभावकारी रहेको बताउनुभयो ।

अतिथिहरुले तालिमबाट सिकेका सीपलाई आर्थिक उपार्जनसँग जोडिने उल्लेख गर्नुभयो । तालिममा आर्थिक सहयोग डिभिजन वन कार्यालय,पाल्पाले र संयोजन सामुदायिक वन समन्वय समिति तिनाउ,पाल्पाले गरेको थियो । तालिममा प्रमुख प्रशिक्षकका रुपमा शान्ति थापाले सहजीकरण गर्नुभएको थियो । 

तालिम समापन कार्यक्रममा स्वागत बेवरेचिउरी सावउसका उपाध्यक्ष दिनेश थापा,सञ्चालन सचिव हरिकला कुमाल र अध्यक्षता समूहका अध्यक्ष जुद्वबहादुर थापाले गर्नुभएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update