Hamroprayas
प्रेस चौतारी रुपन्देहीद्वारा डिजिटल मिडिया व्यवस्थापन तालिम सुरु

बुटवल,चैत १४
प्रेस चौतारी नेपाल रुपन्देहीको आयोजनामा बुधबारदेखि बुटवलमा डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सुरु भएको छ । रुपन्देहीमा क्रियाशिल प्रेस चौतारीका सदस्य तथा सञ्चारकर्मीहरुका लागि २ दिनसम्म सञ्चालन हुने तालिममा विभिन्न १० वटा विषयमाथि विषय विज्ञबाट सहजीकरण गरिने छ ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मिडियाको क्षेत्रबाट बुटवलको विकासका लागि आवश्यक सुझाव सल्लाहको अपेक्षा गर्नुभयो ।  सबै मिलेर बुटवल बनाउनु पर्ने भन्दै उहाँले यहाँ शैक्षिक क्षेत्रको बिकास तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम भैरहेको उहाँले बताउनुभयो  ।यसैगरी बुटवल बजारको सडक मर्मत तथा व्यवस्थापन, सुरक्षाका लागि बजार क्षेत्रहरुमा आवश्यक सिसिटिभी जडान, उज्यालो शहरको रुपमा बिकास गर्न हाईमस्ट लाइट जडान, छाडा चौपाया व्यवस्थापन तथा बुटवल बसपार्कमा विभिन्न भौतिक संरचना निर्माण लगायतका योजना सुनाउनुभयो । 

प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले समयसापक्ष रुपमा डिजिटल मिडियाको प्रयोग र यसको व्यवस्थापनका लागि सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय मिडिया क्षेत्रमा थपिएका चुनौतीहरुको सामना गर्न तथा विकसित प्रविधिको प्रयोगमा सञ्चारकर्मीले आफूलाई विकसित र परिमार्जित गर्नु पर्ने बताउनुभयो । सोही उद्देश्य अनुसार नै प्रेस चौतारीले कार्यक्रमको आयोजना गरेको उहाँले बताउनुभयो । 

तालिममा डिजिटल मिडियामा अवसर र चुनौती, संघीयतामा मिडिया, फेक समाचार, डिजिटल मिडीयाका आयाम, सोसल मिडियाको प्रयोग, समाचार स्रोत र बिषयबस्तुका बारेमा छलफल गरिने प्रेस चौतारी रुपन्देहीका उपाध्यक्ष तथा तालिम संयोजक विपी गौतमले जानकारी दिनुभयो । बुटवल उपमहानगरको आर्थिक सहयोगमा आयोजित तालिममा २ दर्जन बढी सञ्चारकर्मी सहभागी भएको प्रेस चौतारी रुपन्देही सचिब केशब भण्डारीले बताउनुभयो । 

आजको कार्यक्रममा बुटवल उपमहानगरका प्रेस बिज्ञ सी पी खनाल, बरिष्ठ पत्रकारहरु शेरबहादुर केसी, डा.बालकृण्ण चापागाई, प्रदिप आचार्य , दिनेश पाण्डे लगायतले सहजिकरण गर्नुभएको थियो । भोलिको तालिममा आईटी बिज्ञ रमाकान्त पाण्डेले सहजिकरण गर्नुहुने कार्य्रक्रम संयोजक गौतमले जानकारी दिनुभयो।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  २१:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update