Hamroprayas
पश्चिम नेपाल बस व्यवसायी प्रालीमा दधिराम खरेल नेतृत्वको प्यानल घोषणा

बुटवल, चैत १३
पश्चिम नेपाल बस व्यवसायी प्रा.लिको आसन्न निर्वाचनमा दधिराम खरेलको नेतृत्वमा संयुक्त व्यवसायी प्यानल घोषणा गरिएको छ । प्रालिको दोस्रो अधिबेशनमा जसको नीति उसको नेतृत्व भन्ने नारा सहित खरेलको नेतृत्वमा संयुक्त व्यवसायीहरुको प्यानल घोषणा गरिएको हो। संयुक्त व्यवसायीहरुको भेलाबाट खरेलको नेतृत्वको प्यानल सार्वजनिक गरिएको हो।

संयुक्त प्यानलबाट हालका अध्यक्ष समेत रहेका खरेललाई प्रालिको आगामी अध्यक्षमा अघि सारिएको छ। त्यस्तै प्रालिको सञ्चालक समितिमा जीवन कुमार बन्जाडे, मोहन पिएस.,रामचन्द्र भुसाल, जितेन्द्र खत्री, नारायण भण्डारी,नारायणप्रसाद घिमिरे, गोपाल बहादुर पौडेल, चेतनारायण बेलबासे, रामचन्द्र खड्का र सुरेन्द्र श्रेष्ठ सहितको उम्मेदवारी सार्वजनिक गरिएको हो ।  

प्यानल घोषणा गर्दैै अध्यक्षका उम्मेदवार दधिराम खरेलले प्रालिलाई अझ सक्षम र सुदृढ बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।  खरेलले समितिबाट कम्पनीमा जांदा धेरै ठुलो आर्थिक भार परेको अवस्थामा त्यसलाई समाधान गरेर कम्पनीलाई सक्षम बनाएको बताउनुभयो ।उहाँले दुर्घटना न्यूनिकरण, सवारी साधनको विमा पोलिसीलाई अझै चुस्त बनाउन आफ्नो नेतृत्वको टिमले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले कम्पनीलाई गतिशिल बनाउंदै व्यवसायिको पक्षमा काम गर्न समितिकै सदस्यहरुले दिएको जिम्मेवारी पूरा गर्न अध्यक्षमा पुनः उम्मेदवारी दिएको बताउनुभयो ।कम्पनी सफल हुनुमा एक ब्यक्तीको प्रयासले मात्रै नहुने भन्दैै  खरेलले काम गर्ने सक्षम नेतृत्व टिम आफु संग रहेको बताउनुभयो ।व्यवसाय सञ्चालन नगर्ने तर नेतृत्वमा आउन खोज्नेहरुबाट कम्पनीले उल्लेख्य सफलता हात पार्न नसक्ने भन्दै खरेलले आफ्नो टिम व्यवसायीहरुको मात्र टिम रहेको बताउनुभयो । 

घोषणा कार्यक्रममा संयुक्त प्यानलका चुनाव प्रचार प्रसार समितिका संयोजक कृष्णप्रसाद सापकोटाले जुझारु र युवा नेतृत्वको टिमले कम्पनीलाई गतिशिल बनाउंदै व्यवसायीको पक्षमा काम गर्ने बताउनुभयो । प्रा.लीको दोस्रो अधिबेशन चैत १६ र १७ गते बुटवल मण्डपमा हुंदैछ। २ दिन सम्म चल्ने अधिबेशनमा कम्पनीमा आबद्ध २ हजार २ सदस्यले मतदान गर्नेछन्।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  २१:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update