Hamroprayas
तिनाउकाे नालीबेली

पाल्पा, रैनादेवी-छहरा गाउँपालिकाकाे मेहल्ढाप र पूर्वखाेला गाउँपालिकाकाे लेमढेम तिनाउ नदीकाे मुहान हुन्  । रैनादेवी छहराकाे मेहल्ढापबाट बग्दै आउने खाेलालाई दाेभान खाेला भनिन्छ । याे खाेलामा बाउन्ने,झेर्दि,उटुवा,कुर्वान लगायतका ससाना खाेला,खाेल्साहरु मिसिएका छन् । त्यस्तै गरि पूर्वखाेलाकाे लेमढेमबाट आएकाे खाेलालाई झुम्सा खाेला भनिन्छ । याे खाेलामा गाेठादी,सिस्ने,चकाल्दी,बहुला खाेला लगायतका खाेल्साखाेल्सीहरु मिसिएका छन् ।

जब दाेभान खाेला र झुम्सा खाेला तिनाउ गाउँपालिकाकाे वडा नं २ र ३ नम्बरकाे डुमैभन्ने ठाउँमा मिसिएर तल बुटवलतिर बग्न थाल्छ अनि त्यसलाई तिनाउ नदी भनिन्छ । नदी सभ्यतामा याे नदीकाे महिमा र गरिमा उच्च मानिन्छ ।  महाभारत पर्वतबाट बग्दै चुरे हुँदै तराई मधेसतिर बग्दै गएकाे पाईन्छ । याे नदी महाभारत पर्वतदेखि हाम्राे दशगजासम्म ९७ किलोमिटर बगिरहेकाे छ । नदी सानाे भएपनि यसकाे बहुप्रयाेग भएकाे पाईन्छ । यही नदीलाई ड्याम बाँधेर तिनाउ गाउँपालिकाकाे वडा नं ३ काे रामपिथेकस पार्क ( हेडवर्कस) निरबाट सुरुङ खनेर करिव दुई किलाेमीटर तल कदमबासमा टर्वाईन चलाएर विद्युत निकालिएकाे छ । अड्हप्टनकाे टाेलीले याे काम २०२५ देखि थालेर बिजुली निकालेकाे थियाे ।

तिनाउ हाईड्राे प्राेजेक्टका रुपमा चिनिने याे विद्युत गृहबाट करिव एक मेगावाट विजुली निकाल्न सकिने भएता पनि यतिबेला २५० किलाेवाट विद्युत उत्पादन भएकाे पाईन्छ । २०३८ साल असाेज १३ गतेकाे भीषण बाढीले यस विद्युत गृहमा क्षति पुराएकाे कारण फुलफेजमा विजुली उत्पादन हुन सकिरहेकाे छैन । सुरुसुरुमा यहाँबाट उत्पादन भएकाे विजुली दाेभान, चिडियाखाेला,गाेलपार्क,अस्पताल लाईनसम्म बाल्ने गरिन्थ्याे । यही नदीकाे किनारमा अवस्थित बुटवल बजारलाई साँझपख नुवाकाेट र वसन्तपुरबाट हेर्दा अति नै मनमाेहक सुन्दर देखिन्छ ।

यही नदीलाई प्रयाेग गरेर खानेपानी संस्थान,बुटवलले दैनिक एक लाख १० हजार लिटर पानी तानेर चिडियाखाेलामाथि गाेलपार्क नजिकै पाेखरीमा संकलन गरि बुटवलबासीलाई शुद्धीकरण गरि  वितरण गरिरहेकाे पाईन्छ । त्यसै गरि तिनाउ गाउँपालिका वडा नं ४ काे वेशी गाउँबाट गाेठादी खाेलामा ड्याम बाँधेर २० ईन्च पाईपकाे सहारामा दैनिक ८० हजार लिटर पानी, काकाकूल बुटवलबासीलाई खुवाउने ड्रिम प्राेजेक्ट अझै पूरा हुन सकेकाे छैन । तिनाउ नदी बुटवलबासीकाे अमृत हाे र प्राण पनि । तिनाउबादीहरुले यही खाेलाकाे नामबाटै तिनाउ गाउँपालिका नामाकरण गरेका हुन् । तिनाउ नदीलाई बुटवलतिर बग्दै जाँदा तिलाेत्तमा पनि भनिन्छ ।

साेही नदीकाे नामबाट रुपन्देहीमा तिलाेत्तमा नगरपालिका राखिएकाे पाईन्छ । यही नदीकाे पानीलाई प्रयाेग गरेर १६/३६ संयुक्त सिंचाई प्रणालीले शंकरनगर,मणिग्राम,मक्रहर लगायतका करिव १० हजार हेक्टरमा सिंचाई गरेकाे पाईन्छ । त्यसैगरी चारतपाह सिंचाई प्रणालीले माेतीपुर,नयाँगाउँ ,सेमलार लगायतका साढे चारहजार हेक्टर भूमिमा सिंचाई गरेकाे पाईन्छ । यही सिंचाईका कारण यहाँका किसानहरुले बेमाैसी खेती समेत थालेका छन् । मनग्य आम्दानी गरेका छन् ।  खेतीपातीबाटै जीविकोपार्जन गरेका छन् । तल्लाे तटीय क्षेत्रमा पर्ने स्थानीय तहहरु बुटवल, तिलाेत्तमा, सियारी, शुद्दाेदन लगायतका पालिकाहरुले तिनाउ नदीले बगाएर ल्याएका नदीजन्य बस्तुहरु( ढुंगा,बालुजा,गिट्टी ) बाट वर्षेनी कराेडाैं रुपैयाँ राजस्व संकलन गरिरहेका छन् ।

तिनाउ गाउँपालिकामा खानीहरु सञ्चालन भएका छन् । स्थानीय तिनाउ गापाले खानीबाट वार्षिक दुई,ढाई कराेड आम्दानी गरेकाे पाईन्छ । तिनाउ नदीलाई जाेगाउने काममा माथिल्ला तटीय क्षेत्रका बासिन्दाहरू र स्थानीय वन उपभाेक्ता समूहहरुकाे याेगदान महत्त्वपूर्ण मानिन्छ । वृक्षराेपण,वनप्रतिकाे निर्भरता घटाउने,डढेलाे नियन्त्रणमा सहयाेग गर्ने,नदी किनारका बासिन्दाहरुले चर्पी निर्माणमा सावउसहरुकाे विशेष भूमिका देखिन्छ । तिनाउ नदीलाई जीवित राखि राख्नका लागि तिनाउ बचाउ अभियानकाे थालनी गरिएकै हाे ।

बुटवल र तिनाउ मिलेर तिनाउ नदी बचाउ उच्चस्तरीय सरकारी संयन्त्र बनाउन धेरै पहल गरिएकै हाे । माथिल्लाे तटीय क्षेत्रकाे वन ,वातावरण र जैविक विविधता जाेगाउनका लागि तल्लाे तटीय क्षेत्रका पालिका,स्थनीय सिंचाई प्रणालीहरु ,खानेपानी संस्थानहरुकाे समेत याेगदान आवश्यक रहेकाे ठानेर वातावरणीय सेवा भुक्तानीका पहल गरेका हाैं । सामुदायिक वन समन्वय समिति,तिनाउ,पाल्पाकाे संयाेजनमा । लुम्बिनी प्रदेश सरकारसँग ऐन निर्माण कार्यमा हातेमालाे गर्ने हाम्राे प्रयास निर्थक रह्याे । फेरि पनि प्रयास गर्दैछाैै । वातावरणीय सेवा भुक्तानीकाे ऐन पास भएमा तिनाउ नदीकाे संरक्षणमा अति ठूलाे सहयाेग हुनेछ । मृत तिनाउ हुनबाट जाेगाउन सकिने छ । तल्ला तटीय क्षेत्रमा दानव र तिनाउ नदीेले भू-क्षय गरेका छन् ।

कृषियाेग्य जग्गालाई मरुभूमि बनाई दिएका छन् । त्यहाँ तटबन्ध आवश्यक देखिन्छ । तल्लाे तटीप क्षेत्रले माथिल्लाे तटीय क्षेत्रलाई आर्थिक ,   भाैतिक, नैतिक सहयाेग गरेमा पक्कै पनि वन,वातावरण र जैविक विविधता संरक्षणमा खुबै राम्राे कार्य हुन सक्ने छ । यसका लागि स्थानीय सरकारले समेत वातावरणीय ऐन बनाउन जरुरी देखिन्छ ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update