Hamroprayas
उद्योग बाणिज्य संघको टोली र भारतका वित्त राज्यमन्त्रीबीच भेटघाट

भैरहवा, चैत ५ 
रुपन्देहीको सिद्धार्थ उद्योग वाणिज्य संघको टोलीले भारतको केन्द्रीय सरकारका वित्त राज्यमन्त्री पंकज चौधरीसँग भेटघाट गरि ब्यापार सहजीकरण लगायतका विषयमा छलफल गरेको छ । 

सोमबार भैरहवामा आएका वित्त राज्यमन्त्री चौधरीसँग संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ नेतृत्वको टोलीले छलफल गरेको हो ।
सोही अवसरमा संघले नेपाल–भारत सीमानाका बेलहियामा बनिरहेको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्म रेल–वे कनेक्सन विस्तारका लागि आग्रह गरेको छ । अध्यक्ष श्रेष्ठका अनुसार नजिकै नौतनवासम्म रेलसेवा सुचारु रहेकाले आईसीपीसम्मै विस्तार गरि दुई देशको ब्यापारमा सहजीकरण गर्न मन्त्री चौधरीसँग आग्रह गरिएको हो । 

यस्तै,भारत सरकारले लगाएको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईसी) हटाउन पनि मन्त्री चौधरीसँग अनुरोध गरिएको अध्यक्ष श्रेष्ठले जनाउनुभयो  । उहाँका अनुसार नेपालमा उत्पादित सामान भारत निकासी गर्दा बीआईसी प्रमाणित चिन्ह लिनुपर्छ । यसले नेपाली उत्पादन निकासीमा असर पुर्याउने भन्दै उक्त व्यवस्था कार्यान्वयन नगर्न संघले आग्रह गरेको हो ।

संघका महासचिव कृष्णप्रसाद घिमिरेले भारतले खाद्यान्न निकासीमा लगाएको अतिरिक्त कर हटाउन पनि आग्रह गरिएको जानकारी दिनुभयो । यसले नेपालमा खाद्यान्नको मूल्य वृद्धि हुने भन्दै कर हटाउन अनुरोध गरेको घिमिरेले बताए । खुल्ला सीमाका कारण लागूऔषधको ओसारपसार र कारोबार बढेको भन्दै संघले भारततर्फ विशेष कडाई गर्न अनुरोध समेत गरेको छ  ।

संघले भारतीय एयरलाइन्स मार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गरि सहयोग गर्न पनि अनुरोध गरेको छ ।  भैरहवाबाट भारतका विभिन्न सहरमा नियिमित उडान गरे यात्रुको अभाव नहुने संघले बताएको छ ।मन्त्री चौधरीले आईसीपीसम्म रेलसेवा विस्तारको काम छिट्टै हुने जनाउनुभयो  ।

यस विषयमा आफू पहिलेदेखि नै सकारात्मक रहेको जनाउँदै  आफ्नो तर्फबाट सबै किसिमका पहल हुने आश्वासन दिनुभयो । यस्तै उहाँले भारतमा क्राइसिस भएका कारण खाद्यान्न निकासीमा कर वृद्धि गर्नु परेको उल्लेख गर्दै चाँडै नै यसबारे सकारात्मक निर्णय हुने जनाउनुभयो । उहाँले संघले उठाएका सबै माग बारे आफू सकारात्मक रहेको भन्दै समाधानका लागि आवश्यक  पहल गर्ने बताउनुभयो । 

भेटघाट तथा छलफलमा संघका अध्यक्ष श्रेष्ठसहति निवर्तमान अध्यक्ष भीष्मप्रसाद न्यौपाने, उपाध्यक्षद्वय गोविन्दप्रसाद ज्ञवाली र रोहितकुमार अग्रवाल, महासचिव घिमिरे, सदस्य विकास गोयन्का, उद्योगपति राम थापा लगायत सहभागी थिए ।
 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update