Hamroprayas
लुम्बिनी प्रादेशिक अस्पताल र सुर्खेत अस्पताल बीच सेवा सुधार बारे छलफल  

बुटवल,चैत ५
लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र सुर्खेत प्रादेशिक अस्पताल बीच सोमबार अनुभव आदानप्रदान तथा स्वास्थ्य सेवा सुधार बारे छलफल भएको छ ।

लुम्बिनी अस्पतालले स्वास्थ्य उपचार सेवामा गरेको प्रगति तथा यहाँको व्यवस्थापन बारे अवलोकन गर्न आएको सुर्खेत अस्पतालको टोलीलाई अस्पतालमा स्वागत गरिएको थियो । 

लुम्बिनी प्रादेशिक अस्पताल अवलोकनमा आएका प्रतिनिधिहरुलाई स्वागत गर्दै मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले हालसम्म गरेका क्रियाकलाप तथा आगामी योजना बारे जानकारी गराउनुभयो । अस्पतालमा कुनै पनि सेवाग्राहीको गुनासो नआउने गरि सेवा प्रवाह गर्न गरिएका प्रयास बारे उहाँले जानकारी गराउनुभयो । 

सही व्यवस्थापन र योजना कार्यान्वयनले नै न्यूनतम सेवा मापदण्ड मुल्याङ्कनमा नेपालमै प्रथम हुन सफल भएको उहाँले बताउनुभयो । यसैगरी अस्पतालको स्तरोन्नती र नयाँ बन्ने १२ तल्लाको नयाँ भवन र थपिने स्वास्थ्य सेवाबारे मेसु डा. थापाले जानकारी गराउनुभएको थियो । 

सुर्खेत अस्पताल बिकास समितिका अध्यक्ष, निर्देशक डम्बर खड्का तथा नर्सिङ प्रमुख सकुन्तला गौली सहितको टोलीलाई लुम्बिनी अस्पतालका मेसु डा. थापासहित नर्सिङ प्रमुख ज्योती पौडेल तथा प्रशासकीय अधिकृत राजन केसी लगायतले स्वागत गर्नुभएको थियो । भेटघाट कार्यक्रममा दुबै अस्पतालमा विभिन्न विभागीय कक्ष र स्वास्थ्य उपचारका बारेमा अनुभव आदानप्रदान गरिएको थियो ।
 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update