Hamroprayas
एमाले बुटवलको प्रशिक्षण : सुशासनको पक्षमा पैरवी गर्ने पंक्ति तयार गर्दै

बुटवल, फागुन  २७
नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीले स्थानीय समुदाय, संघसस्था तथा ब्यावसायिक सस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने पंक्तिलाई विशेष प्रशिक्षणमार्फत् आचरण, सदाचार, सुशासन, पार्टी र सस्थाहरुवीचको सम्वन्ध जस्ता विषयमा प्रशिक्षण दिएको छ ।

बुटवलका करिव ३ शय जनालाई दिइएको सो प्रशिक्षणमा पार्टी र संघसस्थावीचको अन्तरसम्वन्ध, वित्तिय अनुशासन तथा नेतृत्व विकासका विषय समावेश थिए । भ्रष्टाचार विरोधी अभियान अन्तर्गत हामीले यो कार्यक्रम राखेका हौं, उपमहानगर अध्यक्ष किशन ज्ञवालीले भन्नुभयो । यस अघि भ्रष्टाचार हुने कार्यालयलमा ज्ञापनपत्र मार्फत् सचेत् गराइएको थियो भने यो पटक पार्टी कार्यकर्तालाईनै केन्द्रीत गरी सुशासनको पक्षमा पैरवी गर्ने पंक्ति तयार गर्न खोजिएको हो, उनको भनाई छ ।

प्रशिक्षणमा संलग्न माघव नेपालले भन्नुभयो– यो कार्यक्रम दश वर्ष ढिला भयो । उहाको आशय थियो–समयमै यस्ता प्रशिक्षण दिएको भए हाल उत्पन्न कतिपय समस्याहरु पार्टीमा आउने थिएनन् ।

पार्टी र संघसस्थावीचको अन्तरसम्वन्ध विषयमा नेकपा एमाले लुम्विनी प्रदेश कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख डी.आर. घिमिरेले हरेक कार्यकर्ताले पार्टीसंग कसरी समन्वय गर्ने, नीति विधि र कानुनसम्मत काम गर्ने प्रक्रिया, सस्था वा संगठनको औचित्य–महत्वकावारेमा प्रकाश पार्दै कुनै पनि सस्था ठूलो सानो हुदैन, मुख्य पक्ष काम गर्ने तरिका र शैली हो भन्ने कुरामा जोड दिनुभयो ।

पार्टीको लुम्विनी प्रदेशका स्कुल विभाग सदस्य माधव पौडेलले वित्तिय अनुशासन कायम गर्ने तरिका तथा सुशासनकावारेमा विस्तृत जानकारी गराउदै लेखाप्रणालीका आयामवारेमा सहजीकरण गर्नुभयो । त्यस्तै मुकुन्द ज्ञवाली र गोपाल अधिकारीले नेतृत्वका लागि चाहिने गुण, नेतृत्वका विशेषता र नेतृत्व स्थापित हुने तरिकाका विषयमा सहजीकरण गर्नुभयो ।

शनिवार र आइतवार गरी दुई दिनसम्म चलेको सो कार्यक्रमको उद्घाटन गर्दै पार्टी पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले संसद वा संघसस्थामा संलग्न कार्यकर्ताले कामको पहिलो प्राथमिकता पार्टीलाई दिनुपर्नेमा जोड दिदै पार्टीभन्दा ठूलो अन्य काम हुनै सक्दैन भन्नुभयो । सो अवसरमा उपमहानगर सचिव मेघराज भट्टराईले पार्टीलाई चलायमान् बनाउन, कार्यकर्तामा उत्साह जगाउन निरन्तर रुपमा कार्यक्रम गर्दै जाने धारणा राख्नुभयो ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update