Hamroprayas
लुम्बिनीमा प्रज्ञाप्रतिष्ठान गठनलाई अगाडी बढाउछौं : सभामुख घर्तिमगर

बुटवल,फागुन २२
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान , लुम्बिनी प्रदेश समन्वय समितिको आयोजना, नेपाल व्यवसायिक कलाकार संघको सहआयोजना एवम् बुटवल उपमहानगरपालिका,तिलोत्तमा र रामग्राम नगरपालिकाको सहकार्यमा लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी शुरु भएको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तिमगर( वसन्त)ले लुम्बिनीमा प्रज्ञाप्रतिष्ठान गठन छिट्टै गर्ने बताउनुभयो  । उहाँले भाषा,साहित्य,कला,संस्कृतिको विकासविना समाजको परिवर्तन स्थायी नहुने बताउनुभयो । त्यसका लागि प्रदेशले विभिन्न  प्रज्ञाप्रतिष्ठानहरुको ऐन निर्माण गरि आफू अघि बढ्ने जानकारी गराउनुभयो । 

रैथाने कलाको पहिचान,पहल र पहुँचमा प्रतिष्ठानले भूमिका निर्वाह गर्नुपर्नेमा उहाँको जोड थियो । त्यसैगरी एमाले नेता तथा प्रदेश सभा सदस्य माननीय भोजप्रसाद श्रेष्ठले बुटवल क्षेत्रका लागि ललितकला अपरिहार्य रहेको बताउनुभयो ।

ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति माननीय नारदमणि हार्तमछालीले लुम्बिनी प्रदेशको ललितकलालाई पहिचान गरि प्रसिद्धिका निम्ति पहल गर्ने बताउनुभयो । त्यसैगरी बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले निकट भविष्यमा बुटवलमा ललितकलालाई सम्मान हुने गरि अघि बढ्ने बताउनुभयो । 

उक्त कार्यक्रममा प्रगतिशील लेखक संघ– नेपालका केन्द्रीय सचिव दलबहादुर गुरुङले ललितकलाको विकासका लागि कलाको मर्म र मूल्य बुझ्नुपर्ने बताउँदै लुम्बिनी क्षेत्रमा ललितकला अध्ययन र अध्यापन गर्ने शैक्षिक थलो समेत नरहेको बताउनुभयो ।उद्घाटन सत्रमा दीलिप रसाईली,एचबी रम्तेल,जंग पहाडी,दिनेश्वर महतो लगायतले प्रदर्शनी सफलताको कामना गर्नुभएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update