Hamroprayas
जसले क्रान्तिको नेतृत्त्व गर्छ, उसले नै शान्तिको महत्त्व बुझ्छ : प्रधानमन्त्री 

देउखुरी(दाङ)फागुन १९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी नेतृत्त्वले नै शान्तिको महत्त्वलाई गहिरोगरी बुझ्ने भएकाले त्यसलाई मनन गर्नुपर्ने बताउनुभएको छ । 

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनमा आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै निम्ति मौलिक प्रकृतिको बताउनुभयो । 

“हामीले गौरव गर्नुपर्छ । नेपालको राजनीतिक इतिहासमा हामी मात्रै त्यस्तो शक्ति र नेतृत्त्व हौँ, जसले क्रान्ति र शान्ति दुवैको नेतृत्त्व गर्ने अवसर प्राप्त गर्‍यौँ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “त्यसैले मैले भन्ने गरेको छु– जसले क्रान्तिको नेतृत्त्व गर्दछ, शान्तिको आवश्यकता र महत्त्व पनि त्यसले नै सबैभन्दा बढी बुझ्न सक्छ ।”

प्रधानमन्त्री प्रचण्डले विश्वशान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमि लुम्बिनी शान्तिको उद्गमभूमि र पुण्यभूमिका रूपमा मात्रै परिचित नभएर क्रान्तिकारी आन्दोलन सुरु गर्ने स्थान पनि भएको बताउनुभयो ।

“विश्वशान्तिका अग्रदूत गौतमवुद्धको जन्मभूमि लुम्बिनी शान्तिको उद्गमभूमि र पुण्यभूमिका रूपमा मात्रै परिचित नभएर क्रान्तिकारी आन्दोलन नेतृत्त्व, अग्रगमन र परिवर्तनका नामले समेत उत्तिकै परिचित छ,” प्रधानमन्त्रीले भन्नुभयो, “क्रान्ति र शान्तिको समिश्रणको सबैभन्दा राम्रो दृष्टान्त लुम्बिनी नै हो ।”

लुम्बिनीको विश्वव्यापी महत्त्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले बुद्धभूमिको ‘ब्राण्डिङ’ गर्ने, पर्यटनमैत्री नीति र कानुनहरू निर्माण गर्ने, पर्यटन पूर्वाधार विकास गर्ने र पर्यटनमार्फत प्रदेशको विकास र समृद्धिमा गुणात्मक फड्को हान्नेतर्फ सोच्नुपर्नेमा जोड दिनुभयो ।

आफू तेस्रोपटक सरकारको नेतृत्वमा आएपश्चात सङ्घीयता कार्यान्वयनमा उच्च प्राथमिकता दिएको उल्लेख गर्दै प्रधानमन्त्रीले अन्तरप्रदेश समन्वय परिषद्को बैठक गरी सङ्घीयता कार्यान्वयनमा गति दिइएको बताउनुभयो । 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update