Hamroprayas
प्रधानमन्त्री प्रचण्ड शनिबार लुम्बिनी आउनुहुने

 

लुम्बिनी,फागुन १९
लुम्बिनी बौद्ध विश्वविद्यालयले १५ औं सभाको बैठक शनिबार (१९ गते) लुम्बिनी गर्दैछ । प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सभाको बैठक हुन लागेको हो । बैठकका लागि प्रधानमन्त्री शनिबार लुम्बिनी आउनुहुनेछ । प्रधानमन्त्री दाहालले शनिबार नै लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालयको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय लुम्बिनी विकास कोष परिसरभित्र निर्माण भएको छ । झण्डै २२ करोड लागतमा बनेको भवनमा उपकुलपति कार्यालय, रजिष्ट्रार कार्यालय, अनुसन्धान केन्द्र, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको कार्यालय रहनेछ । भवनमा सुविधा सम्पन्न सभाहल निर्माण भएको छ । जसको क्षमता २ सय ५० भन्दा बढी रहेको छ ।

सभाको बैठक तथा भवन उद्घाटनका लागि विहान साढे ११ बजे प्रधानमन्त्री लुम्बिनी आउने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ ।विश्वविद्यालय सभाका सदस्य सचिव एवं रजिष्ट्रार डा. तिलकराम आचार्यले सभाको बैठकमा वार्षिक नीति कार्यक्रम, बजेट तथा नियम कानून निर्माणका प्रस्तावहरुमा छलफल हुने जानकारी दिनुभयो । विश्वविद्यालय सभाको बैठका सहभागिताका लागि सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई शुक्रबार नै लुम्बिनी आउनुभएको छ ।

सभाको बैठकमा अन्य विश्वविद्यालयका प्रतिनिधि, राष्ट्रिय योजना आयोग, विभिन्न मन्त्रालयका सचिव, लुम्बिनी प्रदेशका प्रमुख सचिव, विकास कोषका उपाध्याक्ष, सातै प्रदेशबाट नियुक्त भएका सदस्यहरु गरी ४३ जना सहभागिता रहने विश्वविद्यालयले जनाएको छ ।

प्रधानमन्त्रीले पहिलो चरणमा कार्यालयको भवन उद्घाटन गर्ने र त्यसलगत्तै सभाको बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री आउने भएपछि लुम्बिनीमा सुरक्षा व्यवस्था मिलाइएको छ । प्रधानमन्त्री हेलिकप्टरमा लुम्बिनी आउने कार्यक्रम तय भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।


 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update