Hamroprayas
लुम्बिनी क्षेत्रमा दादुरा–रुबेला भाइरसको खोपले तीव्रता पाउँदै 

बुटवल,फागुन १७
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा देशव्यापी सुरु भएको दादुरा–रुबेला भाइरसको खोप अभियानले यतिबेला तीव्रता लिएको छ । फागुन १३ देखि सुरु भएको उक्त अभियान चैत्र ७ गते सम्पन्न हुनेछ । 

रुपन्देहीका १६ वटा पालिकाहरुमध्ये पहिलो चरणमा बुटवल उपमहानगरपालिका,लुम्बिनी सांस्कृतिक नगरपालिका लगायत ९ वटा पालिकाहरुमा फागुन १३ देखि १९ गतेसम्म सञ्चालन भइरहेको छ । दोस्रो चरणमा सैनामैना नगरपालिका लगायतका ७ वटा पालिकाहरुमा फागुन २० देखि २४ गतेसम्म उक्त अभियान सञ्चालन हुनेछ ।

 

रुपन्देहीभरिमा तीन लाख १४ हजार सात सय ३८ जना बालबालिकाहरुले अभियानमा दादुरा–रुबेलाको खोप लगाउने छन् । दादुरा–रुबेला भाइरसका कारण सर्ने भएकाले छिट्टै सर्ने अनि संक्रमण भई महामारीको रुप लिन सक्छ । दादुरा रोगका कारण बालबालिकाहरुमा अन्धोपना,कान पाक्ने,निमोनिया तथा कम्पन समेत हुन सक्ने जटिलताहरु देखा पर्न सक्छन् । त्यसैगरी रुबेला संक्रमणका कारण बालबालिकाहरुमा हाडजोर्नी सुन्निने,दुख्ने,रक्तश्राव हुनुका साथै इन्सेफ्लाइटीस समेत हुन सक्छ । 

रुपन्देहीको दक्षिणक्षेत्रमा पर्ने लुम्बिनी प्राथमिक स्वास्थ्य केन्द्रका विभिन्न खोप केन्द्रमा फागुन १३ गतेदेखि १७ गतेसम्म १५ वर्षमूनिका  तीन हजार सात सय जना बालबालिकाहरुले दादुरा–रुबेलाको खोप लगाई सकेको सो केन्द्रका स्वाथ्यकर्मी कोपिला बुढाले जानकारी गराउनु भयो । 

उहाँका अनुसार यस अघि दादुरा–रुबेलाको खोप लगाएपनि अभियानमा दादुरा–रुबेला खोपको थप १ मात्रा नछुटाइ लगाउनु पर्ने छ । यस खोपले दादुरा–रुबेला रोगबाट सुरक्षित हुन थप क्षमता शक्ति विकास हुने र बालबालिका पूर्णरुपमा यो रोगबाट सुरक्षित हुने समेत उहाँले बताउनु भयो । 

यी भाइरसहरु नाक तथा घाँटीमा वृद्धि हुने र स्वासमार्ग हुँदै शरीरका विभिन्न अंगहरुमा पुगेर संक्रमण गराउने र महामारीका रुपमा फैलिन सक्ने भएको हुँदा तोकिएका उमेरका बालकालिकाले तोकिएकै समयमा खोप लगाउनु पर्ने, सोही केन्द्रका नर्सिङ्ग स्टाफ एवम् खोप अभियानमा जोडिनु भइकी गरिमा आत्रेयले बताउनु भयो । 

स्वास्थ्य केन्द्रले तोकेका स्थानहरुमा नै पुगेर आफूहरुले उक्त खोप अभियान सञ्चालन गर्दै आएको र उत्साहजन उपस्थिति समेत रहेको उहाँले जानकारी गराउनु भयो । 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update