Hamroprayas
कुशल अभिभावकत्व

बुटवल,फागुन १६

बच्चाहरुका स्वभाव हेरेरै थाहा हुन्छ, उसको अभिभावकले कति समय दिनुभएको भएको छ भनेर !छोराछोरीहरुको पालन पोषण, असल शिक्षा दिक्षा ,साथीसँगति प्रतिको रेखदेख ,व्यावहारिक ज्ञान, शारीरिक – मानसिक स्वास्थ्यका लागि निरन्तर हेरचाह, बालजीवनका आधारभूत आवश्यकतालाई समुचित रुपमा  मार्गदर्शन गर्नु कुशल अभिभावकत्त्व हो।     

सुरुवाति चरणमा जस्तोखालको बानिव्यवहारमा अभ्यस्त बनायो पछिसम्म पनि त्यस्तै स्वाभावमा प्रस्तुत हुन्छन् बच्चाहरु । बिहानको समयले दिउँसोको झल्को दिन्छ भने जसरी बाबुनानीहरुको पहिलो सिकाइ कार्यको अवस्थाले उनीहरुका भविष्यका कैयौं कुराहरु निर्धारण हुन सक्दछन्।

परिवार, समाज, देश र विश्वको सुखद भविष्य हाम्रा बालबच्चाहरुमै निहित छ। सुखी र शान्त परिवार नवनी सुखी समाज बन्न सम्भव छैन, त्यसैगरी देश र विश्व पनि। छोराछोरी असल नबनी परिवार सुखी बन्न सक्तैन कदापि। 

जसरी घर बलियो बन्नका लागि घरको जग बलियो बन्नुपर्छ त्यसरी नै परिवार र छोराछोरीको भविष्य समुज्वल  र सुखी बन्नका लागि छोराछोरी सुरुदेखि नै असल र ज्ञानी हुनुपर्छ।हुनत, जुनसुकै अभिभावकलाई पनि आफ्नो छोराछोरी चौतर्फी असल र सफल बनोस् भन्ने गहिरो चाहाना हुन्छ तर असल बनाउन र बन्न कस्ता– कस्ता कुराहरुमा ध्यान पुर्याउनु पर्छ र घरको वातावरण कस्तो हुनुपर्छ भन्नेतर्फ कम ध्यान दिइएको हो कि जस्तो देखिन्छ। हाम्रा बालबच्चाले पारिवारिक वातावरण र बाहिरी वातावरण  जस्तो प्राप्त गर्दछन्  त्यस्तै कुरा सिक्दछन्। पारिवारिक वातावरण र  हाम्रा सामाजिक स्वभावका ऐना हुन् हाम्रा नानीबाबुहरु।

हामीलाई लाग्दछ,  हाम्रा  सानाबाबु नानीहरुले हाम्रा कृयाकलापप्रति कुनै वास्ता लिन सक्दैनन् ! बालसुलभ त  एउटा यस्तो चरण हो जुन चरणमा आफ्ना अभिभावकको प्रत्येक क्रियाकलापको नक्कलबाट उनीहरुको पहिलो सिकाइ प्रारम्भ हुन्छ, अभिभावकका हरेक कार्यहरु एक– एक नियालिरहेका हुन्छन् र उनीहरुको प्रत्येक कार्यमा पारिवारिक वातावरण झल्किन्छ।

वर्तमान समय ठूला– ठूला महत्वाकाङ्क्षाको दौडाहामा छ । आर्थिकउन्नति  ,प्रगति, भौतिक सुखसयल र  देखावटी दुनियाँका पछाडि लखेटिदा लखेटिदा परिवार र छोराछोरीलाई दिने समय र माया –ममताको अभाव छ । प्रविधिको दासमान्छे आफू हुनुको अस्तित्व र  आफ्नो कर्तव्य बिर्सिसकेको छ। प्रकृति प्रतिको कर्तव्य,  सामाजिक उत्तरदायित्व , आपसी मेलमिलाप, मर्यादा, स्नेही भावना समेत भूलेको छ। यसले पारेको पारिवारिक मानसिक समस्या, बालबच्चाहरुको  मनोभावनामा परेको गहिरो नकारात्मक  प्रभाव भयङ्कर डरलाग्दो  छ । 

जस्तो खाना उस्तै रगत, जस्तो रगत उस्तै स्वभाव, जस्तो स्वभाव त्यस्तै कर्म, जस्तो कर्म त्यस्तै प्रतिफल ।  त्यसैगरी हाम्रा बालबच्चाका संगत अनुसारका समेत स्वभाव तयार  हुन्छन् ।  दैनिक पढिने पुस्तक, हेरिने टेलिसिरियल र खेलिने खेल अनुसारका रसायन तयार हुन्छन् शरीरमा। त्यसको पनि प्रभाव रहन्छ बच्चाहरुको स्वभावमा। यतातिर पनि गहिरो ध्यान जान जरुरी छ।

बालबच्चामा उमेर अवस्था अनुसारका अनौठा अनौठा खालका स्वभावहरु देखिन्छन्। त्यसलाई त्यसरी नै स्वीकार गर्नुपर्छ तर कहिलेकहीँ अस्वभाविक उछृङ्खल स्वभावहरु देखिन्छन्, अध्ययन र आफ्नो काममा एकाग्रता गुमाइरहेका हुन्छन् । रिसाउने, रुने कराउने, निरन्तर झगडा गर्ने हुन्छन्। यसमा अभिभावकको ममताको कमी,  बजारका तयारी खाना, विभिन्न अखाद्य पेय पदार्थको सेवन, बच्चामा पोषणको कमि लगायत धेरै कारणहरु हुनसक्दछन्। 
     

बढि सुख र सुविधाका कारण पनि हाम्रा छोराछोरी आफ्नो लक्ष र उद्देश्यमा गतिशील हुन सक्दैनन्  र धेरै अभावका कारण पनि। बहुमूल्य जिन्दगीको महत्व भोक र अभावले  दिन्छ भने सम्पन्नताले अहङ्कार र घमण्ड। यसैले बालबच्चाको सफलतम् जीवनका लागि  सुमधुर र  सन्तुलित  अभिभावकत्व प्रदान गर्नु अहिलेको मुख्य आवश्यकता हो। ठूला– ठूला  सपनाका पछाडि साना साना कुराहरु छुटिरहँदा जीवनको प्रवीणता सोचे जसरी भेटिएकै छैन। अभिभावकीय भूमिकामा यी गहनतम् कुराहरु सिकाउन छुट्दा हाम्रा छोराछोरीले आफ्ना मान्यजन प्रति गर्ने सम्मान र मानमर्यादा विर्सिरहेका छन्।

अवको समाज कता जाँदै छ भन्ने  मुख्य चिन्ताको विषय पनि बनेको छ अहिले । यसैले  आफनो दुःख र सुख सवै खाले भोगाइमा छोराछोरीलाई निरन्तर  सहभागी बनाऔँ । हाम्रा महत्त्वपूर्ण समय सकेसम्म छोराछोरीका वरिपरि विताऔँ। राम्रा कामका लागि निरन्तर प्रोत्साहन गरौँ।  उनीहरुमा आफ्ना अभिभावकका हरेक परिस्थितिलाई बुझ्ने क्षमताको विकास गरौँ। बालबच्चा नैतिक र आदर्शवान बनाउन सर्वप्रथम अभिभावक नै नैतिक र आदर्शवान हुनुपर्छ अनिमात्र समाज दीर्घकालिन रुपमा सुन्दर र सभ्य बन्न सक्दछ भन्ने मर्मलाई आत्मसात्  गरौँ। प्रकृतिको सम्मान, माटोको महत्त्वलाई निरन्तर बुझाऔँ। धरतीको सारा अस्तित्व र आसनमा ब्रह्माण्ड अडिएको छ यसलाई अनवरत सम्झाऔँ।  
     

प्रत्येक अभिभावकका लागि छोराछोरीको सर्वोत्तम उपहार हो उनीहरुले गरेका उपलब्धि अनि आदर र सम्मान। जसमा अभिभावकलाई सधैँभरि गर्व गर्ने सौभाग्य प्राप्त होस। यसको लागि छोरा छोरीलाई योग्य बनाउनु , निरन्तर मार्गदर्शन गर्नु अभिभावकको परम कर्तव्य हो। सफलता सजिलोमा भेटिंदैन, सफलताका लागि असफलताका कैयन् मोडहरु,  कठिनाइका अनेक खाडलहरु, जिम्मेवारीका अग्ला पर्खालहरु पार गर्न सिकाऔँ।  जीवनसँगै आउने विभिन्न अवरोध, ,गतिरोध र भ्रमप्रति सजग बन्न प्रेरित गरौँ। 

यथासक्य आफू सहभागी हुने कार्यक्रममा बाबुनानीहरुलाई सहभागी गराऔँ। आफ्नै भान्साघरमा तयार गरिएका ताजा भोजन ग्रहण गर्ने बानीको विकास गराऔँ। यस्तो बानीले बालबच्चाको शारीरिक र मानसिक स्वस्थता पूर्णतया बलियो बनाउँदछ।स्वस्थ मस्तिष्क र स्वस्थ शरीरले मात्र स्वस्थ पारिवारिक र सामाजिक  उत्तरदायित्व बहन गर्न सक्दछ, हामीले ग्रहण गर्ने भोजन, पढिने पुस्तक, हेरिने टेलिसिरियल र साथी अनुसारका सोच तयार हुन्छन् र त्यसै अनुसार हाम्रो जीवनका उपलब्धि तयार हुन्छन् भन्ने ज्ञान प्रदान गरौँ ।
     

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update