Hamroprayas
कञ्चनमा  जनप्रतिनीधि र कर्मचारीहरुका लागि २ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न

कञ्चन,फागुन१३
रुपन्देहीको कञ्चन गाउँपालिकामा पालिकाका जनप्रतिनीधि, कर्मचारीहरुका लागि दुई दिने क्षमता बिकास सम्बन्ध कञ्चन गाउँपालिकामा  तालिम शनिवार सम्पन्न भएको छ।

तालिमको समापन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले तीनै तहका जनप्रतिनिधिहरुमा अध्ययनको कमीले धेरै समस्या आएको बताउनु भयो। सिकाई निरन्तर चलिरहने बिषय भएको र सिकाई कहिल्यै पुर्ण नहुने भन्दै अध्यक्ष ढकालले

जनप्रतिनिधि र कर्मचारीहरुले आफूहरुले गर्ने काम र कर्तब्यहरुको बिषयमा अध्ययन गर्नुको बिकल्प नभएको बताउनु भयो।अध्यक्ष ढकालले सिकाई एकले अर्कालाई सिकाउने भन्दा पनि एक अर्कामा भएको  अनुभवहरुको आदान प्रदान गरी आ आफ्नो कार्यक्षेत्रमा आफुलाई दक्षता कायम गर्न सहयोग पुग्ने बताउनु भयो।

जनप्रतिनिधि र कर्मचारीहरुले आफ्नो बिषय क्षेत्रभित्र पर्ने काम कर्तब्यबारे अध्ययन नगर्दा कार्यक्षेत्रमा बिविध समस्या देखा पर्ने र सेवा प्रवाहमा जटिलता उत्पन्न हने स्पष्ट गर्नु भयो। समयमा आयोजना गरिने क्षमता अभिबृद्धि सम्बन्धी तालिमले कार्य क्षेत्रमा देखिएका समस्या र चुनौतीहरुको सहजीकरणमा धेरै सहयोग पुग्ने समेत अध्यक्ष ढकालले विश्वास ब्यक्त गर्नुभयो ।

तालिममा सहभागी जनप्रतिनीधि तथा कर्मचारीहरुलाई स्वागत गर्दै कञ्चन गाउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले कार्यक्षेत्रमा प्रबेश गर्नु पुर्व आफुले गर्नु पर्ने कार्यहरुको जानकारी हुनु आवस्यक रहेको र कार्यक्षेत्रमा कार्य गर्दै जानेक्रममा देखा पर्ने समस्याहरुको समयमै पहिचान गर्न सके ती समस्याहरुले जटिलता उत्पन्न नगराउने उल्लेख गर्नु भयो।

सिकाईलाई निरन्तरता र सिकेपछि आफ्नो कार्यक्षेत्रमा सहीढंगले उपयोग गर्न सकेमात्र आफ्नो कार्यदक्षतामा समेत परिपक्वता आउने उपाध्यक्ष थापा मगरले बताउनु भयो।यस्तै तालिमका प्रशिक्षक तथा पुर्व अर्थ सचिव कृष्णहरी बास्कोटाले जनप्रतिनीधि र कर्मचारी बिचको सम्बन्ध नङ्ग र मासुको सम्बन्ध जत्तिकै भएको उल्लेख गर्नु भयो। देशप्रतिको समर्पण र देशभक्त हुनु हरेका ब्यक्तिको पहिलो दायित्व भएको उल्लेख गर्दै  हरेक कार्यले देश र जनतालाई कुनै पनि ढङ्गले असर पर्न नहुने उल्लेख गर्नु भयो ।

कानुन भन्दा बाहिर रहेर वा कानुनसंग बाझिने कुनै पनि कार्य अर्थात निर्णयमा सहभागी नहुन आग्रह गर्दै बासकोटाले पारदर्शिता र सुशासन युक्त पालिका बनाउन जनप्रतिनीधि र कर्मचारीको समन्वय र सहकार्य अनिवार्य रहेको बताउनु भयो।

तालिमको समापनमा सहभागीहरुको तर्फबाट वडा नं। ३ का वडा अध्यक्ष टीकाराम सापकोटा र रोजगार संयोजक 
ईश्वरी ज्ञवालीले तालिमबाट प्राप्त सिकाईलाई ब्यबहारमा लागु गर्न सदैव प्रतिबद्ध रहने उल्लेख गर्नु भएको थियो। 

तालिममा सेवा परामर्श, ऐन, कानुन,जनप्रतिनिधी तथा कर्मचारीको काम कर्तब्य र क्षेत्राधिकार, योजना तथा बजेट तर्जुमा, सार्वजनिक खरीद बिक्री, जनप्रतिनीधि तथा कर्मचारीहरुको क्षमता तथा नेतृत्व बिकास र सकारात्मक सोंच बिषयमा प्रशासन सुधार आयोगका पुर्व अध्यक्ष तथा संविधानबिद् काशीराज  दाहालले  र पुर्व अर्थ सचिव तथा राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त कृष्णहरी बास्कोटाले प्रशिक्षण दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले तालिमको आवस्यकता र औचित्यताबारे प्रकाश पार्नु भएको कार्यक्रममा कार्यक्रमको संचालन सूचना अधिकारी गिरिराज अर्यालले गर्नुभएको थियो ।  बुद्धभूमि कन्सलटिङ्ग, काठमाण्डौको व्यवस्थापन तथा कञ्चन गाउपालिकाको आयोजनामा भएको तालिममा सहभागी जनप्रतनीधि तथा कर्मचारीहरुलाई प्रमणपत्र तथा प्रशक्षिक कृष्णहरी बास्कोटालाई धन्यवाद ज्ञापन सहित सम्मान गरिएको थियो।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ०६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update