Hamroprayas
साई ग्लोबल कपः लीलाराम र होराइजन जीवीएस विजयी

भैरहवा, फागुन १० 

भैरहवामा जारी जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’मा बिहीबार भएका दुई खेलमा लीलाराम उच्च मावि र होराइजन जीवीएस विजयी भएका छन् । लीलारामले काशी नोबल एकेडेमीलाई ३ विकेट र होराइजनले देवदह आदर्श क्याम्पसलाई २ विकेटले पराजित गर्दै जित हात पारेको हो ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको काशीले निर्धारित २० ओभरको खेलमा १६ ओभर ४ बलमा अलआउट हुँदै ७२ रनको झिनो योगफल बनायो । उसका लागि आरोग्य पोखरेलले १९, दीपक डुम्रेले १७, आकाश त्रिपाठीले ११ र सिद्धार्थ अधिकारीले १० रन जोडे पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा लीलारामका गुलशन कुर्मी, रमेश कुर्मी, अर्जुन करुस र निरज मौर्यले समान २–२ विकेट लिए ।

प्रतिउत्तरमा लीलारामले १५ ओभर ३ बलमा ७ विकेटको नोक्सानीमा ७३ रन बनाउँदै लक्ष्य भेट्टाउँदै जित निकाल्यो । उसका लागि तुलबहादुर थापाले १६, नरदीप यादवले नटआउट १५ र सुजित गौडले ११ रनको योगदान दिए । बलिङमा काशीका सन्देश जिसीले ३, दीपक डुम्रेले २ र सुप्रित घिमिरेले १ विकेट लिए । खेलमा लीलारामका अर्जुन करुस म्यान अफ द म्याच भए ।

दोस्रो खेलमा टस जितेर ब्याटिङमा उत्रिएको देवदह आदर्शले निर्धारित खेलमा ८ विकेटको नोक्सानीमा ८३ रनको सामान्य योगफल बनाएको थियो । उसका लागि संकेत भट्टराई र रोशन गौतमले समान २९–२९ रन बनाए पनि अन्य ब्याटरले दोहोरो रन जोड्न सकेनन् । बलिङमा होराइजन जीबीएसका विपर्शन केसी र अमित अधिकारीले २–२ तथा सुमित पराजुली र अवनिस लोधले १–१ विकेट लिए ।

जवाफमा होराइजन जीबीएस १९ ओभर १ बलमा ८४ रन बनाउँदै लक्ष्य भेट्टाई जित निकाल्यो । उसको जितमा अवनिस लोधले २०, सुभम खनालले नटआउट १४ र सन्तोष साउदले १३ रन जोडे । बलिङमा देवदह आदर्शका संकेत भट्टराईले २ तथा शिव ज्ञवाली, विशाल ज्ञवाली, रोहित क्षेत्री, रोशन गौतम र रोशन क्षेत्रीले समान १–१ विकेट लिए । खेलमा होराइजन जीबीएसका अवनिस लोध म्यान अफ द म्याच हुन सफल भए ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा साई ग्लोबल एकेडेमीले प्रमुख प्रायोजनमा जारी प्रतियोगिताका विजेता टिमले नगद ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नछ । यस्तै, उपविजेता टिमले नगद २५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र, प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै, म्यान अफ द सिरिजले ५ हजार, बेस्ट ब्याटरले २ हजार ५ सय र बेस्ट बलरले २ हजार ५ सय रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै, एक अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा जिल्लाका विभिन्न कलेजका २६ टिम सहभागी छन् ।


 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  २१:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update