Hamroprayas
बुटवल उपमहानगर पालिकाद्दारा प्रजातन्त्र दिवसको अवसर पारेर जितगढी किल्ला सरसफाई

बुटवल ,फागुन ७ 
 बुटवल उपमहानगरपालिकाले प्रजातन्त्र दिवसको अवसर पारेर जितगढी किल्ला सरसफाई गरेको छ। सोमबार बिहान नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल सहितको टोलीले किल्ला क्षेत्रमा सरसफाई गरेको हो।

सरसफाई कार्यक्रमको शुरुवात गर्दै प्रमुख खेलराज पाण्डेयले देश र जनताका निम्ति बलिदानी दिने सहिदहरु कै कारण मुलुकमा प्रजातन्त्रको बहाली भएको स्मरण गर्दै इतिहासलाई बिर्सन नहुने बताउनुभयो।

उहाँले जनताकै अगुवाईमा भएका आन्दोलनहरुकै कारण देशमा संघीयता सहितको गणतन्त्र प्राप्ति भएको बताउँदै गणतन्त्र रहेमा मात्रै मुलुकको सार्वभौमसत्ता जनतामा रहने बताउनुभयो।

उहाँले जितगढी किल्लामा नेपाल र अंग्रेजबीचको युद्धमा विजयी हासिल गरेकै कारण नेपालको हालको भूगोल कायम रहेको स्मरण गर्दै विगतको योगदानलाई रक्षा गर्नका लागि बुटवलले विशेष प्राथमिकता दिएको बताउनुभयो। 

उहाँले जितगढी किल्लालाई पर्यटकीय स्थलका रुपमा स्थापित गर्दै आन्तरिक र बाह्य पर्यटक आगमनलाई बढावा दिने गरी योजना अगाडि बढाएको बताउनुभयो।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update