Hamroprayas
बुटवलको बिकासलाई लयमा लैजान पत्रकार संग सहकार्य गर्न तयार : प्रमुख पाण्डेय

बुटवल,फागुन ६
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्थानीय तहमा सुशासन जनताको अधिकारसंग जोडिएको महत्वपुर्ण बिषय भएको बताउनुभएको छ । 

राष्ट्रिय समाचार समितिको ६३ औँ बार्षिकोत्सवका अवसरमा रासस लुम्बिनी प्रदेश कार्यालयले आज बुटवलमा आयोजना गरेको ‘सुशासन र समृद्धिकालागि रासस’ बिषयक अन्तरक्रियाको उद्घाटन गर्नुहुदै स्थानीय सरकारका रुपमा रहेका पालीकाहरुले सुशासनका लागि बिधी र प्रणाली स्थापित गर्ने प्रयास गरेपनि संबिधानले स्थापित गरेका हकअधिकार कुण्ठित गर्ने प्रयास भइरहेको बताउनुभयो । 

“पाँच बर्ष सम्म जनताको मतका आधारमा निर्वाचित भएर आएको जनप्रतिनिधी सङ्घीय सरकारको एकजना कर्मचारीको अधिकारका कारण कुनै काम गर्न नसक्ने अवस्था छ”, उहाँले भन्नुभयो, “‘व्युरोक्रेसी’ मुलक स्थानीय सरकारले जनताको पक्षमा केही काम गर्न सक्दैन, यो अधुरो लोकतन्त्र हो ।”नगरप्रमुख पाण्डेले जननिर्वाचित निकायले अधिकार नपाउने तर जिम्मेवारी मात्र लिनुपर्ने तर अधिकार पाएकाले जिम्मेवारी लिनुनपर्ने यस्ता बिषय नै सुशासन र समृद्धिका प्रमुख बाधक हुन भन्नुभयो । 

उहाँले स्थानीय तहमा भएका कामहरुमा सञ्चारमाध्यममा खोजमुलक रुपमा समाचार आउन नसकेको बताउनुभयो । उहाँले एकजना पत्रकारले एउटा मात्र बिषयमा लगातार खोजमुलक समाचार बनाउँदा  पनि बुटवलको समृद्धिलाई टेवा पुग्ने बताउनुभयो ।
नगरप्रमुख पाण्डेले मिडियामा सकारात्मक र राष्ट्रिय हितका पक्षमा कलम चलाउन आग्रह गर्नुभयो । उहाँले मिडियाले पनि समय अनुसार आफ्नो परम्परागत शैलीलाई परिवर्तन गरेर बिधागत पत्रकारीता र खोजमुलक बिषय उठान गर्नेतर्फ केन्द्रित गर्नु सके सुशासन र समृद्धि सम्भव हुने बताउनुभयो ।    

कार्यक्रममा राष्ट्रिय समाचार समिति(रासस) का पुर्व अध्यक्ष डा. बालकृष्ण चापागाइले राज्यको सञ्चार माध्यमको रुपमा रहेको एक मात्र समाचार ऐजेन्सीको गौरवपुर्ण इतिहास र बर्तमानमा यसको आवश्यकता अझै बढदै गएकाले राससको भूमिका अझै बलियो र शसक्त बनाउन राज्यले ध्यान दिनुपर्नेमा जोड दिनभयो । 

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा न. ४ का अध्यक्ष नरिश्वर पौडेल शर्माले राससले सबै जनताले सजिलै सूचना पाउने वातावरण बनाउन सके ६२ बर्षको यसको ऐतिहासीकतामा थप गरिमा बढने बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले समृद्धि बिना सुशासन सम्भव नहुने भएकाले राससले आफना समाचारका बिषयमा सुशासन र समृद्धिका बिषय उठान गर्ने बिषयमा जोडदिनु सुझाव दिनुभयो ।

सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले राससमा जनताले राज्यका गतिविधीहरु सहजै जानकारी पाउने व्यवस्था हुनुपर्ने भन्दै राससका समाचार निःशुल्क पढन पाउने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले राससमा लाई सङ्घीयताको मर्म अनुसार अव प्रदेश स्तरबाट समेत सेवा बिस्तार गर्न सुझाव दिनुहुदै यसको बलियो खम्बा बिचार स्तम्भमा सबै पक्षलाई समेटने व्यवस्था गर्न पनि सुझाव दिनुभयो । 

कार्यक्रममा प्रेस चौतारी नेपाल, रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, नेपाल प्रेस युनियन, रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, संसदिय मामिला पत्रकार समाज, लुम्बिनीका अध्यक्ष घनश्याम गौतम लगायतले राससको सेवालाइ सहज बनाउन र समाचारका बिषयमा बिविधता कायम राख्न सुझाव दिनुभयो । 

कार्यक्रममा रासस लुम्बिनी कार्यालय प्रमुख भरत के.सी.ले राससको ६ दशक लामो गौरवपुर्ण इतिहास देखि हाल सम्मको नेतृत्वले राससको सेवालाई समयानुकुल विकास गर्दै आएको बताउनुभयो । उहाँले पछिल्लो समय राससको समाचार सेवाका बिविधता र यसका सेवाग्राहीले पाउने सेवा सुविधा जस्ता बिषयमा समेत जानकारी गराउनुभयो ।

कार्यक्रममा राससमा २०७९ सालमा ‘चमेराको जिवनचक्र सङ्कटमा’ बिषयक आलेखलाई उत्कृष्ठ ठह¥याइ रुपन्देहीका स्थानीय समाचारदाता रामविकास चौधरी उत्कृष्ठ आलेख पुरस्कारबाट प्रमुख अतिथिले पुरस्कृत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन राससकर्मी निरा गौतमले गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update