Hamroprayas
सत्यतथ्य विचार जनतामा लैजानु प्रेस जगतको प्रमुख जिम्मेवारी  : सूर्य थापा

दाङ ,फागुन ५
नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले सत्य, तथ्य विचार जनतमाझा लैजान जरुरी भएको बताउनुभएको छ । । शनिबार प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको प्रथम साधारण सभालाई सम्बोधन गर्दै उहाँले सत्यतथ्य विचार जनतामा लैजानु प्रेस जगतको प्रमुख जिम्मेवारी भित्र पर्ने बताए ।‘दृष्टिकोण बनाउँदा संगठनलाई केन्द्रमा राख्नुपर्छ’, उहाँले भन्नुभयो,‘ संगठनलाई सहि नीति, एजेन्डाले सबैभन्दा बढी सक्रिय बनाउँछ । यसमा चौतारीले भूमिका बढाउनुपर्छ ।’

वि.सं. २००८ सालमा सत्यनारायणबहादुर श्रेष्ठले स्थापना गरेको पत्रकार महासंघ नै हाल विपुल पोख्रेल अध्यक्ष भएको महासंघ भएको उहाँले स्पष्ट पार्नुभयो । ‘इतिहास मेटाउन पाइदैन । म यो इतिहास मेटाउने खेलको विपक्षमा छु’, उहाँले भन्नुभयो,‘ पत्रकार महासंघको इतिहास तोडमोड गर्न पाइदैन । यसमा म स्पष्ट छु ।’उहाँले पत्रकार महासंघमा गठबन्धनका कारण जित्नेले हार्ने र हार्नुपर्नेले जित्ने गलत परिपाटीको सुरुवात भएको पनि बताउनुभयो । 

चौतारी लुम्बिनी प्रदेशका अध्यक्ष शोभाखर पन्थीको अध्यक्षतामा सम्पन्न सभालाई सम्बोधन गर्दै केन्द्रीय उपाध्यक्ष गणेश पाण्डेले नयाँ पुस्तालाई संगठित गर्नुपर्ने औंल्याउनुभयो । उहाँले पत्रकार महासंघमा नेतृत्व स्थापित गर्ने सवालमा चौतारीले भूमिका खेल्ने बताउनुभयो । अर्का उपाध्यक्ष सविन प्रियासनले प्रदेश सरकारले प्रदेश संचार परिषद्लाई भूमिका दिन नसकेकोप्रति गुनासो गर्दै दवाव सृजना गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

चौतारीका महासचिव हिरामान लामाले संगठन निर्माण, विस्तार र सुदृढीकरणका लागि व्यक्तिवादी सिद्धान्त हावी हुन नहुने र सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमा ध्यान दिनुपर्ने बताउनुभयो ।

सभालाई नेकपा एमाले लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्य, नेकपा एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरे, प्रेस चौतारी लुम्बिनी इञ्चार्ज मोहन चापागाई, प्रेस चौतारी लुम्बिनी प्रदेशका सल्लाहकार भरत केसी, लुम्बिनी प्रदेश सञ्चार परिषद संयोजक मिलन गाहा, संसदीय मामिला पत्रकारका अध्यक्ष घनश्याम गौतमलगायतले परिवर्तनलाई संस्थागत गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले जनसरोकारको सवालमा प्रतिबद्ध भएर भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

सभामा महासचिव निरु गौतमले प्रगति, कोषाध्यक्ष ओपेन्द्र बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाले नेपाल पत्रकार महासंघले एकतर्फीरुपमा गरेको सदस्यता शुद्धिकरणलाई पुनःविचार गर्न माग गर्दै ७ बुँदे घोषणा पत्र जारी गरेको छ । त्यसैगरी घोषणापत्रमा लुम्बिनी प्रदेश सरकारले संचार समन्वय परिषदलाई क्रियाशील बनाउन माग गर्दै तत्काल रजिष्टार नियुक्तिको व्यवस्था गर्न माग गरेको छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  २२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update