Hamroprayas
सामुदायिक वन समन्वय समिति तिनाउको वडागत संरक्षण अभियान समापन

बुटवल,माघ २६
सामुदायिक वन समन्वय समिति,तिनाउ,पाल्पाले पौष २० गतेदेखि आयोजना गरेको वडागत संरक्षण अभियान माघ २६ गते,शुक्रवार, तिनाउको वडा नं. ६ ,मस्याममा पुगेर समापन गरेको छ । तिनाउको वडा नं. १ को कचलबाट सुरु गरेको उक्त अभियान वडा नं. २ को दोभान, वडा नं. ३ को झुम्सा,वडा नं. ४ को जौबारी, वडा नं.५ को कोल्डाँडा र  नं.६ को मस्याममा पुगेर सम्पन्न भएको हो ।

अभियानमा तिनाउ गाउँपालिकाभित्र रहेका ८४ वटा सामुदायिक वन उपभोक्ता समूह र तीनवटा धार्मिक वनहरुका पदाधिकारीहरुकाबीच वन,वातावरण र जैविक विविधता संरक्षणका लागि भए गरेका प्रयासका साथै संस्थागत सवलीकरणका लागि गरिएका अभ्यासका बारेमा ब्यापक छलफल भएको थियो ।    

शुक्रवार,मस्याममा भएको समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश वन निर्देशनालयका निर्देशक दधिलाल कंडेलले सामुदायिक वन उपभोक्ता समूहहरुले वन,वातावरण र जैविक विविधता संरक्षणका लागि गरेका कामहरु उल्लेखनीय रहेको बताउँदै वन्यजन्तु र मानवबीचको द्वन्द्वले पारेको असरका सन्दर्भमा प्रकाश पार्नुभएको थियो । 

सामुदायिक  वन समन्वय समिति,तिनाउ पाल्पाले विगत २२ वर्षदेखि वन उपभोक्ताहरुको सशक्तिकरण र आयआर्जनको क्षेत्रमा गरेको प्रगति लोभ लाग्दो रहेको समेत उहाँले बताउनुभयो । समूहका पदाधिकारीले आफ्नो कार्ययोजना अध्ययन गर्नुपर्ने,वार्षिक साधारण सभा,अडिट गरी समूहलाई संस्थागत रुपमा तन्दुरुस्त राख्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रमका विशिष्ट अतिथि तिनाउ गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष टोमबहादुर पुनले आफ्ना वडामा रहेका सामुदायिक वन उपभोक्ता समूहहरुलाई सचेतनामुखी अभिमुखीकरण कार्यक्रम सञ्चालन आवश्यक रहेको बताउँदै आगामी दिनहरुमा सामुदायिक वन समन्वय समिति,तिनाउसँग हातेमालो गरी अघि बढ्ने बताउनुभयो । 

कार्यक्रममा संस्थाका अध्यक्ष दलबहादुर गुरुङले वडागत संरक्षण अभियानले समूहको सवलीकरणमा जोड दिएको बताउँदै वार्षिक साधारण सभा,बैठक,आमभेला र अडिट भए नभएको समेत जानकारी प्राप्त भएको र कार्ययोजना सकिएका वनहरुको पुनः कार्ययोजना र अडिटका निम्ति सहयोग गर्ने समेत उहाँले बताउनुभयो । 

अभियानका क्रममा प्राप्त भएका तथ्य,तथ्यांकहरुलाई विश्लेषण गरी तिनाउ गाउँपालिकाका जनप्रतिनिधिहरु,वनसँग सरोकार राख्ने सरकारी,गैरसरकारी संस्थाहरु एवम् तिनाउमा रहेका सबै सामुदायिक वन र धार्मिक वनका अध्यक्षहरुलाई सहभागी गराइ निकट भविष्यमा नै सिङ्गो प्रतिवेदन प्रस्तुत गर्ने अध्यक्ष गुरुङले बताउनुभयो । 

सामुदायिक वन समन्वय समितिका सल्लाहकार राजेश श्रेष्ठले समन्वय समितिले सञ्चालन गरेको दोभान कृषि बहुउद्देश्यीय सहकारी संस्थालाई आफ्ना वन उपभोक्ताहरुका बीच पुराउन सबै समूहहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । समन्वय समितिका वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेयको स्वागत,सदस्य माया थापाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता समितिका सचिव एवम् अभियानका संयोजक दिनेश जीसीले गर्नुभएको थियो ।


 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update