Hamroprayas
एमालेको बहुमत नआउँदासम्म मुलुकले निकास पाउदैन: महासचिव पोखरेल

बुटवल ,माघ २४
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तामा टिकिरहने सत्तागठबन्धनमा आबद्ध दलहरूका सोचले मुलुक सबै क्षेत्रमा अप्ठ्यारोमा परेको बताउनु भएको छ ।

एमाले रुपन्देहीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले निर्वाचनअघि नै गठबन्धन गरेर मुलुकलाई बन्धक बनाउने काम भइरहेको र त्यसपछिका काम पनि त्यसैगरी अन्यौलतामा बितिरहेको बताउनुभयो।

‘सरकार सत्ताको खेलमा मात्र व्यस्त छ, विकास निर्माणका काम अलपत्र छन्। ऋण दैनानुदिन बढिरहेको छ। जनता गरिबीले छट्पटिएका छन्। युवा विदेश जान बाध्य छन्’ पोखरेलले भन्नुभयो ।

 एमालेको सरकारले मात्र मुलुकको विकास गर्ने  दाबी गर्दै विगतका आन्दोलनबाट पाठ सिकेर सबै राजनीतिक दल अगाडि बढ्नुपर्ने र  देश र जनताको हितमा काम हुन एमालेको बहुमत आउनुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो।

आन्दोलन संस्थागत गर्ने वेला कांग्रेसले जहिले पनि धोका दिने गरेको उनले आरोप लगाउनु भयो ।कांग्रेस सधै यथास्थितिको पक्षधर हो, उसले नबोली बसेपनि हुन्छ, तर एमाले परिवर्तनको नेतृत्व गर्ने पार्टी हो, त्यसैले आफ्ना विचार समाजका अगाडि राखिरहनुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘२०१७ देखि हालसम्मका विभिन्न आन्दोलन भए। कांग्रेस पनि जिम्मेवार पार्टी हो। हरेक आन्दोलनको नेतृत्व कांग्रेसले पनि गर्दै आएको छ तर आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न कांग्रेसले धोका दिने गरेको छ। इमानदार भएर राजनीति गरेको भए पटकपटक आन्दोलन गर्नुपर्ने थिएन। ठूलो संघर्ष र आन्दोलनबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ। सत्ता स्वार्थका कारण लोकतन्त्र पूर्णरूपमा संस्थागत हुन  सकेको छैन । 
दुर्गा प्रसाईजस्ता नेता वेलाबखत पार्टीमा जन्मने उहाँले बताउनुभयो ।

प्रभावित पार्न पार्टीमा आउँछन्। आफ्नो स्वार्थ पूरा नभएपछि धोका दिएर जाने गर्छन्। उनी अराजकताको प्रतिनिधि भएको पोखरेलले बताउनुभयो।उहाँले थप्नुभयो , ‘यस्ता खालका नेतालाई जनताले विस्तारै पाखा लगाउँदै जान्छन्।’

यस्ता व्यक्तिप्रति पार्टी र जनता होसियार हुनुपर्ने उहाँको भनाइ छ । कलात्मक हिसाबले पार्टीमा आउँछन् र धोका दिएर जाने हुँदा आगामी दिनमा यस्ता अराजक नेताप्रति वेलैमाथि सचेत हुन आवश्यक रहेको पोखरेलले बताउनुभयो । 

नेकपा एमालेको नेतृत्व बनेका स्थानीय सरकारले उदाहरणीय काम गर्नुपर्ने उहाँले बताउनुभयो । अन्य दलले भन्दा फरक काम गर्नुपर्छ। जनताको हितमा काम गरिनुपर्छ। जनजीविकासँग जोडेर कार्यक्रम सञ्चालन गर्न उहाँले सुझाउनु भयो ।

सम्बन्धित विज्ञसँग छलफल गरी स्थानीय तहमा नमुना काम गर्नुपर्छ। जनताले महसुस गर्ने गरी विकास निर्माणका काम हुनुपर्छ। त्यसले पार्टीको जनआधार दरिलो बन्न सक्छ, उहाँले भन्नुभयो । 

पार्टी बनाउन हिजो जसरी काम गरिएको थियो आज पनि त्यसैगरी सबै कार्यकर्ता सकृय हुनुपर्दछ, सबै कार्यकर्ताको जोडले पार्टी बलियो हुन्छ, त्यो स्थानीय तहमा मात्र होइन केन्द्रमा पनि बुझाईमा समस्या छ अब सुधार्नुपर्छ’ पोखरेलले भन्नुभयो  ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update