Hamroprayas
लुम्बिनी केबलकारमा  भ्यालेन्टाइन डे’ सम्म  ५० प्रतिशत छुट

बुटवल, माघ २४

लुम्बिनी केबलकारले प्रणय दिवस सप्ताह (भ्यालेन्टाइन डे) लाई लक्षित गरी टिकट दरमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

कम्पनीले माघ २४ गतेदेखि फागुन २ गतेसम्म केबलकारको दुई तर्फी यात्राको टिकट दर पांच सय रुपैयां मात्र कायम गर्ने घोषणा गरेको हो ।

केबलकारका अपरेसन म्यानेजर दिल्लीनारायण कायस्थ सैंजूले प्रणय दिवसलाई लक्षित गरेर भ्यालेन्टाइन अफर ल्याइएको बताउनुभयो ।

नेपालीसंगै भारतीय नागरिकलाई पनि टिकट दरमा ५० प्रतिशत छुट गरिएको उहाँले बताउनुभयो ।

कम्पनीले यसअघि ल्याएको ‘मर्निङ अफर’ र दशैं तिहार लक्षित चाडपर्व अफरले आन्तरिक र वाह्य पर्यटकलाई आकर्षित गरेको हुंदा भ्यालेन्टाइन अफरले विशेष गरी युवा पुस्तालाई आकर्षित गर्ने कम्पनीको विश्वास रहेको सैंजूले बताउनुभयो ।

केबलकारको टिकट दर रु एक हजार कायम गरिएपनि सञ्चालनमा आएसंगै नेपालीका लागि ७५० रुपैयां कायम छ । बुटवलको गोलपार्क बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका बसन्तपुरमा टप स्टेशन रहेको २.६ किलोमिटर दूरीको केबलकार गत जेठ १५ गतेदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको थियो । आठ महिनामा करिब दुई लाख पर्यटक केबलकारको यात्रा गरी पाल्पाको बसन्तपुर पुगेका कम्पनीले जनाएको छ ।

डेढ दशकअघि प्रक्रिया अघि बढे पनि लगानी अभाव लगायत विभिन्न कारणले काम अघि बढ्न नसकेको कूल ५ अर्ब लागतको आयोजना आईएमई ग्रुपले नेतृत्व लिएपछि १४ महिनामै निर्माण सम्पन्न भएको थियो ।

कम्पनीले प्रत्येक टिकट दरको एक–एक प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई स्थानीय कर वापत दिंदै आएको छ ।

टिकटदरमा बुटवलको वडा नम्बर ३ र तिनाउ गाउंपालिकाको वडा नम्बर ३ का बासिन्दा, अपांगतासहित फरक क्षमता भएका नागरिक र ३ देखि ४ फिट उचाई भएकालाई ५० प्रतिशत छुट, विद्यार्थी र ७० वर्षदेखि ८० वर्ष सम्मका जेष्ठ नागरिकलाई ४० प्रतिशत तथा ३ फिट भन्दा कम उचाईका बच्चा र ८० वर्ष माथिका जेष्ठ नागरिकलाई नि:शुल्क गरिएको छ ।

२५ वटा गोण्डोला (यात्रु बस्ने डिब्बा) रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ ।

केबलकारको टप स्टेशनमा रेष्टुरेण्ट, जीप लाइन, सेल्फी जोन सञ्चालनमा आइसकेका छन् भने स्काई साइक्लिङ, विद्युतीय पिङ, बाल उद्यान निर्माणको चरणमा छन् । त्यस्तै २ वर्षभित्र एक सय ५० कोठा, १ हजार जना क्षमताको बैंक्वेट हल र क्यासिनो सहित साढे ३ अर्ब लागतमा पाँचतारे होटेल बनाउने योजना छ ।

करिब १ सय जनालाई रोजगारी दिएको कम्पनीले पाँचतारे होटल सञ्चालनमा आउँदा थप ५ सय बढीलाई रोजगारी दिन सक्नेछ । आईएमई समूहले सञ्चालनमा ल्याएको यो तेस्रो केबलकार हो ।

 

 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update