Hamroprayas
एमाले पार्टी स्कूल विभाग लुम्बिनीको पहिलो बैठक बुटवलमा सम्पन्न 

बुटवल,माघ २३
नेकपा एमाले,लुम्बिनी प्रदेश स्कूल विभागको पहिलो बैठक विभागका प्रमुख भोजप्रसाद श्रेष्ठको अध्यक्षतामा मंगलवार बुटवलमा सम्पन्न भएको छ । बैठकका प्रमुख अतिथि पार्टी केन्द्रीय कमिटी सदस्य एवम् लुम्बिनी प्रदेश स्कूल विभाग समन्वय संयोजक लक्ष्मण ज्ञवालीले लुम्बिनी प्रदेशको मनोभाव बुझेर विभाग अघि बढ्नुपर्ने बताउनु भयो । 

उहाँले साविकका लुम्बिनी,राप्ती र भेरी अञ्चल मिलेर बनेको यो प्रदेशमा तराई,पहाड र हिमालको समेत समाहित रहेको हुँदा उक्त क्षेत्रका पार्टी नेता, कार्यकर्ताहरुको मनोविज्ञान बुझ्न पर्ने औल्याउनु भयो । स्कूल विभागमार्फत पार्टीका नेता,कार्यकर्ताहरुलाई पार्टीको नीति,विचार,सिद्धान्त र कार्यक्रमका बारेमा बुझाउँदै पार्टी संगठनलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले बाँकेको नेपालगञ्ज,दाङ र बुटवलमा नियमित पार्टी स्कूल सञ्चालन गर्नका लागि प्रदेश स्कूल विभाग घनिभूत तरिकाले लाग्न निर्देशन समेत दिनुभयो । 

स्कूल विभागका सदस्यहरुकाबीच परिचय कार्यक्रमबाट अघि बढेको बैठकले आर्थिक वर्ष २०८०/०८१ का लागि विभागका उपप्रमुख दलबहादुर गुरुङले तयार पार्नुभएको प्रस्ताविक वार्षिक कार्ययोजनालाई परिमार्जनसहित पास गरेको छ । 
उक्त कार्ययोजनामा विभागका सदस्यहरुलाई दायित्ववोध सम्बन्धी अनुशिक्षण, पार्टी स्कूल विभागले तयार पारेको पाठ्यक्रम अनुसारको प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन र व्यवस्थापन, अन्तरविभागीय  अन्तक्र्रिया गोष्ठी व्यवस्थापन,पठन एवम् लेखन संस्कृति विकास सम्बन्धी गोष्ठी सञ्चालन, उद्घोषण तथा भाषणकला,प्रविधि तथा प्रतिवेदन लेखनसम्बन्धी तालिम र निरन्तर समन्वय,संयोजन र समीक्षा कार्यक्रमलाई योजनामा समावेश गरिएका छन् । बैठकले विभिन्न कार्यक्रमका लागि जिम्मेवारी तोकेको छ । 

बैठकमा विभागका सदस्यहरु गोपालप्रसाद अधिकारी,माधव पौडेल,विक्रम खनाल ,सुमित्रा शर्माले पार्टी स्कूल विभागलाई चुस्त,दुरुस्त र कामकाजी बनाउने पर्नेमा जोड दिदै परिणाममुखी विभाग नै आजको आवश्यक रहेको बताउनु भयो । 
बैठक छोटो तर महत्वपूर्ण बनाउन आफू सधैं क्रियाशील रहने बताउदै विभागका प्रमुख भोजप्रसाद श्रेष्ठले बैठकमा अनुपस्थित सदस्यहरुलाई स्पष्टीकरण सोधिने प्रष्ट पार्नुभयो । बैठकको सञ्चालन विभागका सचिव कृष्णप्रसाद अर्यालले गर्नुभएको थियो ।  
 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update