Hamroprayas
बुटवलमा विद्यालयस्तरीय मेयर कप फुटबल हुने

बुटवल,माघ २२
बुटवलमा विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न बुटवल उपमहानगरपालिकाले अन्तरविद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता गर्ने भएको छ।

सोमबार पत्रकार सम्मेलन गरी माघ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी हुने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिनुभयो । उहाँले बुटवल ११ को फिफा टेक्निकल सेन्टरको मैदान र बुटवल १३ को जबइ खेलमैदानमा प्रतियोगिता आयोजना हुने गरी तयारी भएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई खेलकुदका क्षेत्रमा अग्रणी बनाउनका लागि विद्यालयस्तरदेखि भेट्रान सम्मका विभिन्न प्रतियोगिताहरु आयोजना गर्ने र खेलमैदानहरुको संरक्षण र मर्मतको काम गरिरहेको बताउनुभयो । उहाँले आगामी दिनमा अरु धेरै विधामा खेल प्रतियोगिता आयोजना गर्ने र खेलाडी तथा प्रशिक्षक उत्पादनमा समेत विशेष जोड दिने बताउनुभयो । 

प्रतियोगितामा २०६० साल माघ १९ गते भन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थीमात्रै सहभागी हुने पाउनेछन्।प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८–१८ हजारका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने नगर खेलकुद विकास समितिका लालहरि पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८–८ हजारका दरले पुरस्कार पाउनेछन।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update