Hamroprayas
लुम्बिनी प्रदेशमा माघ २१ गते आइतबार सार्वजनिक विदा

बुटवल, माघ १९

लुम्बिनी प्रदेश सरकारले माघ २१ सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश स्थापना दिवस मनाउने निर्णय गर्दै सरकारले सो दिन विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने र सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रदेशसभाको निर्वाचन भएर २०७४ साल माघ २१ गते पहिलो बैठक बसेको दिनलाई आधार मानेर लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेशको स्थापना दिवसका रुपमा मनाउँदै आएको छ ।

यसवर्ष पनि दिवसका सन्दर्भमा विभिन्न कार्यक्रमहरू हुँदैछन् । प्रदेश गृह मन्त्रालयका सचिव लालबावु कवारीले स्थापना दिवसको अवसरमा शुक्रवार प्रदेशसभा र प्रदेशसरकारबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुने बताउनुभयो ।गृह मन्त्रालय र प्रदेश खेलकूद परिषद्को संयुक्त आयोजनामा आइतवार बिहान ८ बजेदेखि राजधानी राप्ती उपत्यकाको भालुवाङ देखि देउखुरी प्रशासनिक परिसरसम्म ५ किलोमिटरको दौड प्रतियोगिता आयोजना समेत आयोजना गरिएको छ ।

दौडमा १२ जिल्लाका युवाले भाग लिन पाउनेछन् । प्रतियोगितमा प्रथम, द्धितीय र तृतीय हुनेलाई खेलकूद् परिषद्ले पुरस्कृत गर्नेछ । त्यस्तै, आइतबार बिहान ११ बजेबाट सभाहलमा औपचारिक कार्यक्रम हुनेछ ।१२ जिल्लाका स्थानीय तहलाई आफ्नो पहिचानसहित विभिन्न कला, संस्कृति र भेषभुषासहित झाँकी प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । प्रदर्शनका लागि अहिलेसम्म ११ जना ग्रुपले नाम दर्ता गराएको उनले बताउनुभयो ।

प्रदर्शनमा प्रथम हुनेलाई २१ हजार, द्धितीयलाई १५ हजार, तृतीयलाई ११ हजार र सान्तना हुने समुहलाई ६ हजार रुपैयाँले पुरस्कृत गरिने सचिव कवारीले बताउनुभयो ।लुम्बिनी प्रदेशको आर्थिक विकासमा कलम चलाएका १३ जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिने मन्त्रालयका प्रवक्ता खिमानन्द ज्ञवालीले बताए ।

१२ जिल्ला मध्येबाट एक जनालाई १ लाख राशी सहितका अग्रज सञ्चारकर्मी सम्मान र १२ जनालाई ५० हजार रुपैयाँको राशीमा सृजनशील सञ्चारकर्मीबाट सम्मान गर्ने कार्यक्रम तय गरिएको छ ।स्थापना देखिका पूर्वसांसदलाई प्रदेशसभाले लागो वितरण गर्ने, स्मारिका विमोचन गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  ०६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update