Hamroprayas
देश बचाउने जिम्मा एमालेको काँधमा : सचिव पद्मा अर्याल

बुटवल,माघ १४
नेकपा एमालेका सचिव एवम् लुम्विनी प्रदेश इन्चार्ज पद्यमा अर्यालले देश समाप्तिको डिलमा पुगेकोले अब देश बचाउने जिम्मा एमालेको काँधमा आएको बताउनुभएको छ । एमाले लुम्बिनी प्रदेश कमिटीको तेश्रो पूर्ण बैठकलाई सम्वोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।‘पछिल्ला तथ्यांक डरलाग्दा आए । राजश्व उठ्ने क्रम पहिलाभन्दा प्रतिमहिना ४ अर्ब कम छ । प्रतिमहिना १ खर्ब १५ अर्ब १४ करोड व्यापार घाटा छ । २० करोडसम्म भारतले नेपालमा आएर सिधै खर्च गर्ने व्यवस्था डर लाग्दो हो, उहाँले भन्नभयो – ’विभिन्न प्रकारका सूचना लिनका लागि यसप्रकारका माध्यम बनाइएको छ । यो नेपाल कब्जा गर्ने रणनीति हो ।’ ‘कम्युनिष्ट नामबाट सत्ता चलाएर भएन ।

प्रधानमन्त्री कुर्सी डगमगाउला भनेर, हेगमा जान पर्ला भनेर लम्पसार हुनुहुन्छ, टीआरसी भारतलेनै टुंगो लगाउन नदिने स्पष्ट छ, अवस्था यस्तो छ’ नेतृ अर्यालले भन्नुभयो ।दीर्घकालमा देश सुम्पने तरिकाले यो सरकारले काम गरेको बताउँदै अर्यालले सवै प्रकारका कुकर्मलाई जनताका वीच राखेर राजनीतिको कोर्स परिवर्तन अबको आवश्यकता रहेको र अब मुलुक बचाउन एमालेले मात्र सक्ने उहाँको भनाई थियो ।

प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा भएके बैठक सचिव लक्ष्मण आचार्यले सञ्चालन तथा स्वागत उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले गर्नुभएको थियो । बैठकमा पूर्व मुख्यमन्त्री तथा पोलिटव्युरो सदस्य लीला गिरीले प्रदेश स्थापनाकालमा हाम्रो नेतृत्वमा वनेको सरकारले सवैभन्दा धेरै वजेट खर्च गर्न सकेको प्रसंग उल्लेख गर्दै यो पटक पनि एमाले नेतृत्व सरकारले कृषिको माध्यमबाट समृद्घ प्रदेश बनाउने प्रयत्न गरेकोमा त्यो सरकारलाई टिक्न नदिएर कार्यकर्ता पोस्ने र भ्रष्टाचारलाई सस्थागत गर्ने तरिकाले काम भएको वताउनु भयो ।

गिरीले यो विषयलाई जनताका वीचमा लैजान पार्टी पंक्ति सक्रिय हुन आवश्यक रहेको बताउनुभयो । वैठकमा पार्टी केन्द्रबाट प्राप्त परिपत्रको अध्ययन गरी यस अघि सचिवालय वैठकले गरेका निर्णयको अनुमोदन गर्दै तदनुसारको निर्देश कार्यान्वयन गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ । भूकम्प प्रभावित खासगरी पश्चिम रुकुम क्षेत्रमा २०५ जना स्वयंसेवक खटाएकोमा सो अभियान प्रभावकारी रहेको निष्कर्ष बैठकले निकालेको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत् समृद्धि लागि संकल्प यात्रामा पूर्वी रुकुम र गुल्मीले गरेको कामको उच्च मूल्यांकन गर्दै बैठकले धन्यवाद ज्ञापन गरेको छ । साथै वैठकले राष्ट्रियसभामा सिफारिस गरेका नामको पनि अनुमोदन गरेको छ । वैठकले सल्लाहाकार परिषद, ज्येष्ठ कम्युनिष्ट मञ्च र ३१ वटा विभागहरुलाई पूर्णता दिएको छ । यसवाहेक केन्द्रीय निकाय, सल्लाहकार परिषद र सिफारिस गर्नुपर्ने नामको सिफारिस गरेको छ ।

वैठकले जिल्ला तथा पालिका र वडास्तरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक निर्णय गरेको छ । साथै सदस्यता नवीकरण र नयाँ सदस्यता प्रदान गर्ने निर्णय गर्नुका साथै जिल्ला र मातहत कमिटीका अधिवेशन गर्नका लागि निर्देश गरेको छ । यस्तै जनसंगठनका सन्दर्भमा पनि प्रदेश, जिल्ला तथा मातहत कमिटीका सम्मेलन, वैठक, भेला तथा प्रशिक्षण सञ्चालन गर्ने र प्रदेश जनसंगठन संयन्त्रको वैठक सञ्चालन गर्नका लागि पनि आवश्यक निर्णय गरेको प्रचार विभाग प्रमुख डिआर घिमिरेले बताउनुभयो ।

बैठकमा लुम्विनी प्रदेशका १२ वटै जिल्लाका पार्टी अध्यक्षहरुले जिल्ला तथा मातहत किमिटीको वैठकको अवस्था, पालिका तथा वडा अधिवेशनको अवस्था, जनसंगठनको अवस्था, प्रशिक्षण कार्यक्रमको तयारी अवस्थामा केन्द्रीत रही आ–आफ्नो जिल्लाको रिपोर्टिङ गरेका थिए ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update