Hamroprayas
सन्तानकाे सपना

 उचालेर सुदूरपश्चिमको सन्तान

सुदूरपूर्वकाे सगरमाथा चुमाउने रहर छ

छाउपडीबाट जाेगिएर

जन्माएकाे छाउराे हाे !

उमारेकाे हुँ पाठेघरमा

हुर्काएकाे हुँ बच्चादानीमा

उसलाई जन्माउन हजारपटक मरेकी छु

उसलाई बचाउन

घामपानी,हूरिबतास सहेकी छु ।

भाेकमरीमा भ्रूण रहेकाे बेला

पिचास र डङ्किनीका नाममा

झाँक्री र लामा उत्रेका हुन् मैमाथि

आगाे निलेर ओकलेकाे सन्तान हाे मेराे

यसलाई

काठमाडौं  चिनाउनु छ मैले

पशुपतिनाथ पुराउनु छ मैले

नजन्मिदै परदेश हिडेका

यसका बाबालाई भेटाउनु छ मैले

महारा जाँदा जन्मिएकाे बबुराे हाे

अस्पतालमा सुईँ लगाउनु छ मैले

सुत्केरीमा निउराे खाएर न्वारान उतारेकी हुँ

निउराेबियन भिटामीन चखाउनु छ मैले

नाम राखिदिएका छन् पण्डितले- बुधे

बुधेलाई

बहादुर अनि वीर बनाएर

कालापहाड पठाउने छैन

बुद्धि दिएर

असल मान्छे बनाउने छु 

बुधे एकदिन

सुदूरकाेमात्र हाेईन

सिङ्गाे देशकाे

सगरमाथाजस्तै अग्लाे मान्छे बन्नेछ !

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update