Hamroprayas
बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउन शुरु

बुटवल,माघ १४
बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउन शुरु गरिएको छ ।बुटवल उपमहानगरपालिकाभित्र सडकमा कुकुरहरुको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेविजविरुद्धको खोप लगाउन थालिएको हो । शनिबारदेखि बुटवल उपमहानगरपालिकाको आयोजनामा वडा नं. १५ नवरत्न मावि नजिकैको भवनमा ३ दिने अभियान शुरु भएको हो ।

अभियानका क्रममा बुटवलभित्रका सडकका कुकुरहरुको बन्ध्याकरणले कुकुरको संख्या वृद्धि रोकिने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले बताउनुभयो । उहाँले कुकुर पाल्नेहरुले सार्वजनिक स्थलमा दिसापिसाब गराउनेलाई कारबाही गर्ने जानकारी दिनुभयो ।बुटवलमा सबैतिरबाट सहज पहुँच भएकाले बुटवलमा छाडा चौपाया र कुकुरहरुको संख्या बढ्दै गएकाले यसलाई रोक्नका लागि तयारी थालिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं. १५ का अध्यक्ष शिव रानाले बुटवलका १९ वटै वडाका सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिने बताउनुभयो । बन्ध्याकरणपछि बुटवलमा सामुदायिक कुकुरहरुको संख्या वृद्धि रोकिने उहाँँले बताउनुभयो । पशुपंक्षी विकास शाखाका प्रमुख झविन्द्र बञ्जाडेले ३ दिनसम्म चल्ने कार्यक्रममा बुटवलका सबै वडाहरुबाट कुकुर संकलन गरी तीनको बन्ध्याकरण गरिने बताउनुभयो  ।

यसपटक वडा नम्बर १५ मा शुरु भएको अभियानमा बुटवलका सबै क्षेत्रका कुकुरहरु लगेर बन्ध्याकरण गर्ने बताउनुभयो । हरेक वर्ष बुटवल उपमहानगरपालिकाले सामुदायिक कुकुरहरुको संख्या वृद्धि हुन नदिन बन्ध्याकरण र रेविज रोग फैलिन नदिन रेविजविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update