Hamroprayas
मिलीजुली बचत तथा ऋण सहकारीमा ज्ञानवर्द्वक तालिम

पाल्पा,माघ ५
मिलीजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तिनाउ,पाल्पाले तिनाउ–१,कचलमा आफ्ना सदस्यहरु र नयाँ सदस्य बन्न ईच्छुकहरुका लागि एक दिवसीय सहकारी अभिमुखीकरण शिक्षा कार्यक्रम शुक्रबार कचलमा सम्पन्न भयो । कार्यक्रममा सहकारीको ईतिहास,वर्तमान अवस्था,गतिविधिहरु, भविष्यका लक्ष्य,बैंक एवम् सहकारीकाबीच अन्तर,सहकारीका सिद्धान्त र नियमका बारेमा सहकारीका अभियन्ता दलबहादुर गुरुङ र मिलीजुली सहकारीका अध्यक्ष रवीन्द्र पौडेलले सहजीकरण गर्नुभएको छ । 

समापन कार्यक्रमका प्रमुख अतिथि एवम् तिनाउ गाउँकार्यपालिकाका सदस्य धनीकुमारी बगालेले मिलीजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट पहिलो पटक ज्ञानवर्द्वक तालिम लिन पाएकोमा खुसी प्रकट गर्दै महिलाहरुलाई उद्यमी र व्यवसायिक तालिम दिदै जाओेस् भन्दै शुभेच्छा प्रकट गर्नुभयो । राज्यले सहकारीलाई प्राथमिकता दिएको समेत उल्लेख गर्नुभयो । 

उक्त कार्यक्रममा संस्थापक अध्यक्ष पदमलाल शाक्य,कमला पौडेल र महिला उद्यमी दया दर्लामीले सहकारीले आफ्ना सदस्यहरुलाई उद्यमशीलतातर्फ उन्मुख गराउन जोड दिएका छन् । उनीहरुले मिलीजुली  सहकारीलाई नमूना बन्दै जाओेस् भन्दै शुभकामना व्यक्त गरेका छन् । 

कार्यक्रममा सहकारीले आयस्रोत कमजोर तथा विपन्न शेयर सदस्यहरुका चारजना सन्तानलाई शैक्षिक सामग्री वितरण गरेको थियो । कार्यक्रम ,सचिव लालकुमार श्रेष्ठकाे सञ्चालन र अध्यक्ष रवीन्द्र पाैडेलकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update