Hamroprayas
महिलाको सिप र उद्यमशिलताका बिषयमा नगर प्रतिबद्ध छ - उपप्रमुख अर्याल

बुटवल, पुस २५
आशिष सामाजिक सेवा नेपालले बुधबार बुटवलमा दिक्षान्त कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रममा ६ महिने सिलाईकटाई सिपमुलक तालिम र नेतृत्व विकास तालिममा सहभागी १५ जना किशोरीहरुलाई दिक्षित गरिएको हो । दिक्षित भएका किशोरीहरुलाई प्रमाणपत्र प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेवी अर्यालले आफूले सिकेको सिपलाई व्यवहारमा उर्तान आग्रह गर्नुभयो ।

उहाँले बुटवल उपमहानगरपालिकाले महिलाको सिप र उद्यमशिलतामा काम गरेको बताउदै आशिष सामाजिक सेवा नेपालले पनि किशोरीहरुलाई सिप दिएर नगरको कार्यक्रममा सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो । प्रमुख अतिथि अर्यालले अहिलेको अबस्थामा सिप र ईच्छाशक्ति भएका कुनैपनि महिला वा किशोरी आर्थिकरुपले व्यवसाय र उद्यम गर्न पछि पर्न नपर्ने बताउदै सिकेको सिप सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका अतिथि बुटवल उपमहानगरपालिका वडा नम्बर २ का वडा सदस्य गंगा घिमिरेले धेरै जसो महिला,युवा वा किशोरीले तालिममा सहभागि हुने तर त्यहाँ सिकेको सिपलाई व्यवहरमा कार्यान्वयन नगर्ने पाइएको भन्दै तालिममा सहभागी किशोरीलाई आफूले सिकेको सिप कार्यान्वयन गर्न सुझाव दिनुभयो ।

आशिष सामाजिक सेवा नेपालका केन्द्रिय अध्यक्ष कल्पना सेन्चुरीले आशिष सामाजिक विकास सेवा नेपालले मानव वेचविखनबाट प्रभावित र जोखीमा रहेका किशोरीहरुलाई  सिप मात्र नभएर पारिवारीक मेलमिलाप,सामाजिक संस्कार र नेतृत्व लिन सक्ने क्षमताबृद्धि गरेर उनिहरुलाई हरेक क्षेत्रमा सशक्त वनाउने कार्य संस्थाले गर्दै आएको बताउनुभयो । 

आशिष सामाजिक सेवा नेपालका केन्द्रिय सदस्य चित्र बहादुर गुरुङ्गले दिक्षित समारोहमा सहभागी किशोरीहरु लगनसिल र मेहनति भएका कारण संस्थाबाट प्रदान गरिएको सिपलाई कार्यान्वयन गर्नेमा आफू बिश्वस्त भएको बताउनुभयो । 
कार्यक्रममा बोल्दै सहभागी भुमिसरा मगरले  आर्थिक विपन्नता र आफूमाथि परिवारको जिम्मेवारी थपिएकोले १२ कक्षा पास गरेपछि रोजगारीको सिलसिलामा मानवबेचविखनबाट प्रभावित भएको बताउर्दै सहाराविहिन भएको बेला आशिष सामाजिक सेवा नेपालले अभिभावकत्व प्रदान गरेको बताउनुभयो । उहाँले ६ महिलासम्म संस्थामा बस्दा खान,बस्न सिप,ज्ञान लगायतका सबै कुरामा राम्रोसँग सेवा पाएकोमा खुशी व्यक्त गर्दै संस्थाप्रति आभार व्यक्त गर्नुभयो ।

२०६३ सालमा स्थापना भएको संस्था आशिष सामाजिक सेवा नेपालले मानव वेचविखन र लैंगिक हिंसा बिरुद्धको अभियानमा महिला  बालबालिका र किशोरी लक्षित विभन्न कार्यक्रम संचालन गर्दै आएको संस्थाका कार्यकारी निर्देशक युवराज विकले जानकारी दिनुभयो । संस्थाले हाल नेपालका १० जिल्लामा काम गर्दै आएको र यसै अन्र्तगत मानव बेचविखनबाट प्रभावित र जोखिममा रहेका रोल्पा,जाजरकोट,कपिलबस्तु,नवलपरासी पाल्पा लगायतका जिल्लाहरुका किशोरीहरुलाई संस्थाको केन्द्रिय कार्यालयबाटै आश्रय सहितको सिप प्रदान गरेको बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेवी अर्यालको प्रमुख आतिथ्यता,आशिष सामाजिक सेवा नेपालका केन्द्रिय अध्यक्ष कल्पना सेन्चुरीको अध्यक्षता,केन्द्रिय सदस्य चित्र बहादुर गुरुङ्गको स्वागत तथा कार्यकारी निर्देशक युवराज विकको संचालनमा सम्पन्न कार्यक्रममा स्थानीय महिला तथा किशोरीहरुको समेत सहभागिता रहेको थियो ।


 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update