Hamroprayas
महिला नेतृत्व र चुनौती 

बुटवल,पुस २३

विशेष जिम्मेवारीका साथ, कुनैपनि ठाउँको जनसमुदायलाई समानव्यवहारद्वारा, उपयुक्त कार्ययोजना अनुसार, आफुलाई अग्र स्थानमा उभ्याउँदै, आम कल्याणका निम्ति, प्रभावकारिताकासाथ, समन्वयात्मक ढंगबाट असल मार्गमा डोर्याउने एक कलात्मक शैलीलाई नेतृत्व भनिन्छ ।

विशेष शक्ति र उत्साह बोकेको, सहयोगी व्यवहार भएको, कडा परिश्रमी, उच्च नैतिकता र इमान्दार, समाज र राष्ट्रको हितमा समर्पित, अरुलाई सशक्तिकरण गर्न सक्ने क्षमता भएको, अरुको भावनाको कदर गर्न सक्ने, समयलाई बुझ्नसक्ने, अध्ययनशील एक अगुवा व्यक्ति नेता हो ।

यहाँ महिलाहरुको नेतृत्वको स्थितिलाई मन्थन गर्न खोजिएको छ । बितेका समयमा महिलाहरुको शिक्षा, सक्षमता, अवसर, र अग्रसरता लागि निकै आवाज उठाउनु पर्यो जसको उपलब्धि स्वरुप आज महिला हरेक तहमा अग्र स्थानमा बसेर सबै प्रकारले नेतृत्व लिन तयार भएका छन् ।जहाँ नेतृत्व प्राप्त छ महिलाहरुलाई, त्यहाँ कुशलता प्रदर्शन भैरहेको छ । 

हो, महिला एक छोरी, बुहारी, श्रीमती, आमा, कृषक, नर्स बहु आयामिक व्यक्ति हो।महिलाको भूमिकाको महत्त्व कुनै शब्दमा पनि वर्णन गरेर सकिंदैन । उनको अनगिन्ति भूमिकाको बावजुत पनि उनको कुशलता प्रदर्शन भैरहँदा अझै पनि महिलालाई कम आँकलन गर्नेको कुनै क्षेत्रमा  कमि छैन ।

जहाँ महिलाको उपस्थिति रहन्छ त्यहाँ हरेक कुरा ब्यवस्थित हुन सक्दछ तरपनि उनको गहन भूमिकालाई हौसला दिनु र  सम्मान दिनु त कहाँ हो कहाँ ; उल्टै निरुत्साहित र हतोत्साहित गर्ने र महिलालाई जहिले पनि सुसारे र सहयोगीको भूमिकामा मात्र देख्न चाहने पुरातन सामाजिक मानसिकताले समाजलाई प्रकाशमय हुनबाट अझै पनि रोकेको छ ।

सानो–सानो बाहानामा थर्काउने, भड्काउने र तर्साउने गरी उनको कोमलता, सरलता र इमान्दारितामा बुट बजार्नेहरु यत्रतत्र सर्वत्र भेटिन्छन ! उनिभित्रका अनन्त सम्भावनाहरुले प्रोत्शाहन र अवसर पाउनुको सट्टा उनको असल र सफल कार्यमाथि फरक व्यक्तिले श्रेय बटुल्ने र उनको उत्कृष्टता र लगनशीलतालाई ओजेलमा पार्न खोजेको पाइन्छ । जहाँ महिलाको उपस्थिति रहेको हुँदैन, त्यहाँको अवस्था अस्तव्यस्त देखिन्छ । महिलाहरुसँग हरेक समस्या र  परिस्थितिलाई धैर्यतापूर्वक स्वीकार गरी सहजतापूर्वक समाधान गर्ने विशेष क्षमता हुन्छ। यस्तो दक्षता हुँदाहुँदै पनि कार्यकारी र नेतृत्वदायी भूमिकामा महिलाहरु कमजोर हुन्छन् भन्ने मानसिकता हावि हुनु अहिलेसम्म पनि कति जायज हो ? 

जहाँ महिलाको आवाजलाई सम्मान गरिन्छ त्यो ठाउँ हरेक प्रकारबाट उज्ज्यालो र प्रकाशमय हुन्छ । महिलाहरुसँग भएको अथाह सम्भावनाहरुलाई स्वतः स्फूर्त नेतृत्वको लागि अवसर दिने हो भने कहिंकतै पनि केही  कुराको कमि महसुस हुनु पर्ने छैन । महिलाहरुको अगुवाइलाई स्वतन्त्रताका साथ अघि बढ्न दिने हो भने समस्याका कैयौं पहाडलाई पनि सजिलै समाधान गर्न सक्दछन् । महिला नेतृत्व र सक्षमताले तुलनात्मक रुपमा समान अवसर प्राप्त गर्न सक्दा हामीले सोचेजस्तो सक्षम र सुन्दर समाज स्थापित हुन सक्दछ ।

नेतृत्व क्षमता विकासको लागि आफूलाई तयार गर्नुपर्ने कुरा पनि सामान्य कुरा होइन, यो न त पढेर जानिन्छ न त लेखेर नै ! यो त शतप्रतिशत प्रयोगात्मक रुपमै ठूलो भीडमै हाम फालेर सिकाई विकास गर्ने कार्य हो।यसमा आफूभित्रको एक उत्साहरुपी  संचारले मात्र काम गर्दछ ,सुनिन्छ नि विश्वका कैयौं महान व्यक्तिको विशेष कीर्तिमान शिक्षाको प्रमाणपत्ररुपी योग्यतालेभन्दा आफ्नो उत्साह शक्तिले स्थापित भएका छन् । उमेर जतिसुकै होस्, हामीभित्रको उत्साहरुपी शक्तिलाई कहिल्यै कमि हुन दिनुहुँदैन। जीवनमा हार र जीतको बीच एउटा कुरा ज्यादै महत्वपूर्ण हुन्छ। त्यो हो डर या साहस। यदि हार र जीतको बीच साहस छ भने हारको हार  हुन्छ र जीतको जीत । “हारको डर हारभन्दा बढी खतरनाक हुन्छ”  हुन पनि हो, हारको डरले जित्ने साहसलाई मारिदिन्छ ।

 हो, महिलाहरुमा भएका अनन्त सम्भावनाहरुलाई बलियो आत्मविश्वासकासाथ नेतृत्व सीपमा लगाउँदा एउटा परिवार मात्र होइन, सिङ्गो ब्रह्माण्ड नै स्वर्गमय हुन सक्दछ । जस्तोसुकै कठिन परिस्थितिमा पनि विचलित नहुने महिलाशक्तिले उचित अवसर र प्रोत्साहन पाओस् ।


अन्तमा, आपसी श्रद्धाभाव, पवित्र मित्रता, मनमा सजगता, सहयोगी शुभ भावनालाई विस्तार गर्न सकौँ । आत्मज्ञानलाई बलियो बनाउन सकौं । स्वाभिमान बढाउन सकौं एवम् एक– अर्का बिच सकारात्मक र सिर्जनात्मक भावनाको विकास गरी स्वदेशी माटोलाई उर्वर र सुगन्धमय पारौँ । आफ्नो भविष्यको सुन्दर सम्भावनाहरु स्वदेशमै खोजौँ ।
                                         !!! जय महिला नेतृत्व !!!

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update